राष्ट्रपति भण्डारी कतार फाउन्डेसनको कार्यक्रममा सरिक



कतार :  राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चारदिने औपचारिक भ्रमणको तेस्रो दिन बुधबार दोहास्थित कतार फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सरिक भएकी छन् । राष्ट्रपति भण्डारीलाई त्यस फाउन्डेसनकी कार्यकारी अधिकृत शेख हिन्द बिन्द खालिफा अल थानीले स्वागत गरेकी थिइन् ।

 

उक्त फाउन्डेसनअन्तर्गत् विभिन्न विश्वविद्यालय तथा शिक्षालयहरू सन्चालित छन् । जहाँ ९० भन्दा बढी देशका विद्यार्थीहरू विभिन्न संकायमा अध्ययनरत् छन् ।

 

यसैबीच यस फाउन्डेसनकी अध्यक्ष शेख मोजा बिन्द नसिरले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी छन् । सो अवसरमा उनीहरूबीच विज्ञान, प्रविधि, खाद्यसुरक्षालगायातका क्षेत्रमा दुई देशबीच अनुसन्धान र सहकार्य गर्ने विषयमा छलफल भएको वार्तामा सहभागी रहेका परराष्ट्र मन्त्रालयका अधिकृत श्रीकृष्ण सिलवालले जानकारी दिएका छन् ।

 

यसैगरी, महिला सशक्तीकरण र बालशिक्षाका क्षेत्रमासमेत दुई देशबीच सहकार्य गरेर अगाडि बढ्नसकिने विषयमा छलफलकेन्द्रित रहेको अधिकृत सिलवालले बताए । राष्ट्रपति भण्डारीले त्यस फाउन्डेसनको विशिष्ट आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी छन् । फाउन्डेसनकी अध्यक्ष नसिरले राष्ट्रपति भण्डारीलाई मायाको चिनोसमेत प्रदान गरेकी थिइन् ।

 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपति कार्यालयका विज्ञ माधव शर्मा, परराष्ट्रसचिव शंकरदास बैरागी, राष्ट्रपतिका प्रमुख स्वकीयसचिव डा. भेषराज अधिकारीलगायत भ्रमणदलका सदस्य सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्