लुम्बिनी प्रदेशमा जसपाका दुई मन्त्रीद्वारा सपथ



बुटवल । जसपाबाट मन्त्री नियुक्त भएका लुम्बिनी प्रदेशका २ मन्त्रीहरुको सोमबार पद तथा गोपनियताको सपथ ग्रहण भएको छ ।
समानुपातिक सदस्य कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रीका रुपमा सपथ ग्रहण गरिन् । समानुपातिककै सदस्य सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा सपथ ग्रहण गरिन् । मन्त्री पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ गराए ।
वैशाख ६ गते विस्तार गरिएको मन्त्रिमण्डलमा उनीहरु दुवैजना साविक मन्त्रालयमा थिए । उनीहरुको पदभार ग्रहण पनि सोमबार नै भयो । पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै शिक्षा तथा सामाजिक विकास मन्त्री पाण्डेले प्रदेशवासीको हितमा दत्तचित्त भएर लाग्ने र नमुना काम गरेर देखाउने बताइन् ।
आइतबार सपथ गरेका दुईसहित जसपाका ४ वटै मन्त्री प्रदेशसभाबाट निष्कासित भएका छन् । संसदीय दलको विधि र नियम विपरित गएको भन्दै पार्टीको उपेन्द्र यादव पक्षले पार्टी सदस्य नरहेको र प्रदेशसभाबाट निष्कासित गरेको पत्र पठाएपछि प्रदेश सभाले उनीहरु सदस्य नरहेको सूचना जारी गरेको थियो । यद्यपि अध्यक्ष महन्त ठाकुर पक्षले उक्त निर्णय गलत भएको भन्दै कार्यान्वयनमा नलैजान निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । उनीहरु चारैजनाले सर्वोच्च अदालतमा कानुनी उपचारका लागि निवेदन दर्ता गर्न खोजे पनि बैशाख मसान्तसम्म कोरोना र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र हेर्ने यसअघिको निर्णयका कारण उनीहरूको रिट निवेदन दर्ता भएन ।
मुख्यमन्त्री शंकर पोखरेलको ७ सदस्यीय प्रदेश मन्त्रिपरिषद्मा हाल मुख्यमन्त्रीसहित एमालेका ३ जना छन् । जसपामा राज्यमन्त्रीसहित ४ जना पुगेका छन् । अरु मन्त्रालय विस्तारै थप्दै जाने मुख्यमन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्