प्रजातान्त्रिक योद्धा फुलगेन यादवको निधन



बर्दिवास : महोत्तरीका प्रजातान्त्रिक योद्धा फुलगेन यादवको हृदयघातका कारण ६० वर्षको उमेरमा गए राति निधन भएको छ । राति १२ बजेतिर पिसाब फेर्न बाहिर निस्कँदा लडेर बेहोस भएपछि उहाँलाई बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषित गरेका थिए । यादवको पार्थिव शरीर अन्त्येष्टिका लागि पैत्रिक थलो बगडा लगिएको छ । पछिल्लो समय जिल्लाको चेरुगणन्ता साझेदारी वन उपभोक्ता समितिमा उहाँ आवद्ध रहनुभएको थियो । 

 

यादव १५÷१६ वर्षको किशोवयदेखि नै प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । लोहारपट्टी नगरपालिका–१ बगडाका बासिन्दा यादवको निधनमा नेपाली काङ्ग्रेस जिल्ला सभापति महेन्द्रकुमार रायले दुःख व्यक्त गर्नुभएको छ । यादव पञ्चायतकालमा पटक–पटक जेल पर्नुभएको थियो । यादवका पत्नी, दुई छोरा र दुई छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस्