दलित केटासँग प्रेम बसेपछि परिवारले तनाव दिएकाे भन्दै छात्राद्वारा अात्महत्या



गुल्मी : रेसुङ्गा नगरपालिका १० को भगवती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत तीन छात्राले विष सेवन गरेका छ्न्।  सोही वडाका १६ वर्षीया समीक्षा थापा, सपना थापा र पार्वती केसीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिए।

 

समीक्षाले मुसाको विष बोतलमा घोलेर शुरुमा आफूले खाएको र पछि अरु दुई जना साथीलाई खानेपानी भनेर खुवाएको उपरीक्षक बस्नेतले बताए। बिहान अतिरिक्त कक्षा चलिरहेको बेलामा पिसाब फेर्न भनेर बाहिर निस्किएका उनिहरुले साढे नौ बजे विष सेवन गरेको विद्यालयले जनाएको छ।

 

उनीहरुलार्इ जिल्ला अस्पताल तम्घासमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रेफर गरिएको प्रहरीले जनाएको छ। शुरुमा विष सेवन गर्ने समीक्षाले आफ्नो स्थानीय एक दलित केटासँग प्रेम सम्बन्ध रहेको र घरकाले पटकपटक तनाव दिएपछि विष सेवन गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्