कैलालीका स्थानीय तहमा कोरोना संक्रमण दर घट्दो



धनगढी : कैलालीका स्थानीय तहमा स्वाब सङ्कलन घटेको छ । समुदायमा कोरोनाका लक्षण भएका बिरामी घटेपछि कोरोना परीक्षणका लागि आउनेसमेत घटेका स्थानीय पालिकाका स्वास्थ्य शाखाको भनाइ छ । विगत एक महिना हेर्दा हाल कोरोना परीक्षणका लागि आउनेको सङ्ख्यामा कमी आएको जोशीपुर गाउँपालिकाका स्वास्थ्य शाखा सह–संयोजक शान्ति चौधरीले बताए । “शुरुमा त दैनिकरुपमा परीक्षण गरिदिनुपर्यो भनेर फोन आउँथ्यो, हाल त्यस्तो छैन”, चौधरीले भने, “हाल सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पनि दुई÷तीन दिनमै रिपोर्ट आउन थालेको छ, सायद चाप कम भएरै होला ।”

जोशीपुर जस्तै जानकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । “दुई साताअघिसम्म स्वाब सङ्कलन शुरु गरेको समयमा स्वाब दिन आउनेको निकै भीड लाग्ने गरेको थियो”, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरी भन्छन्, “हाल परीक्षण गर्न आउनेको सङ्ख्या घटेको छ । शुरुका दिनमा त सयौँ नागरिक परीक्षणका लागि आएका थिए, लकडाउनका कारण नागरिक घरमै बस्दा सङ्क्रमण घटेको देखिन्छ, आजभोलि सातामा २० देखि ३० जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।” कैलालीका अधिकांश पालिकाले सातामा दुई दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गर्ने गरेका छन् । भजनी नगरपालिकाले पनि साताको दुई दिन सोमबार र बिहीबार स्वाब सङ्कलन गर्ने गरेको छ । पहिले एकै दिनमा ८० देखि १०० व्यक्ति स्वाब दिन आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर बढीमा ३० मात्र आउने गरेका छन् ।

भजनीका स्वास्थ्य शाखा सहसंयोजक कैलाश चौधरी कोरोना परीक्षण गरी पोजेटिभ देखिए गाउँ समाजले हेलाका दृष्टिले हेर्छ भन्ने नागरिकको बुझाइले पनि परीक्षण गर्न आउने घटेका बताउँछन् । “सङ्क्रमितको सङ्ख्यासमेत घटेको छ । अर्कोतर्फ सामाजिक दुर्व्वहार सहनु नपरोस् भनी मानिस परीक्षणसम्म आउन मान्दैनन्”, चौधरीले भने, “लामो समय बन्द हुँदा यसले सङ्क्रमण न्यूनीकरणमा समेत सघाएको छ ।” टीकापुर नगरपालिकामा पनि कोरोना परीक्षणका लागि स्वाब दिन आउने नागरिक घटेका छन् । शुरुमा हप्तामा २५० व्यक्तिसम्मको स्वाब सङ्कलन गरिन्थ्यो । अहिले २० जनासम्म मात्र स्वाब दिन आउने गरेका छन् । उक्त नगरपालिकाले मङ्गलबारदेखि गाउँगाउँमा गएर शङ्कास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य शाखा संयोजक बलबहादुर रावल बताउँछन् । “गाउँका मानिस सबै खेतीपातीमा व्यस्त हुन थालेका छन्, लक्षण भएका पनि घरभित्रै बस्नुपर्दा काममा समस्या हुन्छ भनी नआएका पनि हुनसक्छन् भनेर गाउँमै गएर परीक्षण गर्ने तयारी थालेका छौँ”, रावल भन्छन्, “लक्षण भएकालाई परीक्षणको दायरामा ल्याउन महिला स्वास्थ्य स्वयम्सेविकालाई खबर गरेका छौँ, हरेक वडामा गएर परीक्षण गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्