सत्तारुढ सांसदले नै गरे प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको आलोचना



विराटनगर । प्रदेश १ सभामा प्रदेश प्रमुखले प्रस्तुत गरेको अगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबार दोस्रो दिन सत्तारुढ दल एमालेकै प्रदेशसभा सदस्यहरुले आलोचना गरेका छन् ।
छलफलमा सहभागी २२ जना सबै प्रदेशसभा सदस्यले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका व्यक्त गरेका हुन् । उनीहरुले नीति तथा कार्यक्रम प्रदेशको स्रोतको आधारमा कार्यान्वयन हुन नसक्ने भन्दै आलोचना गरे । उनीहरुले विगतको वर्षहरु झैं ल्याइएको नीति तथा कार्यक्रम कार्यान्वयन असम्भव भएको भन्दै सरकारको आलोचना गरे ।
सत्तारुढ दल एमालेका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले प्रदेश सरकारले अहिलेसम्म ल्याएको नीति तथा कार्यक्रम निम्नवर्गीयको भन्दा मध्यमवर्गी, दलाल, नोकरशाही, पुँजीपति वर्गहरुलाई हित हुने गरी ल्याउँदै आएको टिप्पणी गर ।
सत्तारुढ दलका अर्का प्रदेशसभा सदस्य खिनुलङ्बा लिम्बुले नीति तथा कार्यक्रममा गाउँपालिकाको वडा कार्यालयले गर्नेदेखि संघीय सरकारले गर्ने सबै समेटिएको भन्दै आलोचना गरिन् ।
सत्तारुढ दलका अर्का प्रदेशसभा सदस्य राजेन्द्रकुमार राईले प्रदेश सरकारले सडकका लागि ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि मात्रै न्यूनतम ३० अर्ब बढी बजेट आवश्यक पर्ने भन्दै आलोचना गरेका छन् । सत्तारुढ दलका प्रदेशसभा सदस्य राजन राईले नीति तथा कार्यक्रम सुन्दर भएपनि व्यवहारिक नभएको भन्दै आलोचना गरेका छन् ।
जनता समाजवादी पार्टीका नेता जयराम यादवले यो नीति तथा कार्यक्रम मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले गर्न नसक्ने भन्दै आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्