कांग्रेस महासमिति बैठकः सवा करोड खर्च हुने, सहभागीलाई साँझको खाना र बासस्थान छैन



काठमाडौं : नेपाली कांग्रेसको आसन्न महासमिति बैठकमा सवा करोड खर्च हुने व्यवस्थापन समितिले अनुमान गरेको छ । 

मंसिर ५ देखि ९ सम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने महासमितिको तयारीलाई व्यवस्थापन समितिले तीव्रता दिएको छ । महासमितिका बैठकका लागि देशभरबाट १३ सयभन्दा बढी महासमिति सदस्य सहभागी हुनेछन् । प्रति निर्वाचन क्षेत्रबाट एक महिला सहित चार जना महासमिति बैठकमा सहभागी हुने व्यवस्था छ । 

महासमितिमा सहभागी हुनेहरुलाई व्यवस्थापनले बिहानको चियानास्ता, खाना र दिउँसोको चिया मात्रै उपलब्ध गराउनेछ । साँझको खाना र बासस्थान भने सहभागी स्वयंले व्यवस्था गर्नुपर्ने हुन्छ । पार्टीलाई आर्थिक भार कम गर्नका लागि बासस्थान सहभागीले नै खोज्नुपर्ने व्यवस्थापन समितिका संयोजक तथा काठमाडौ जिल्ला समितिका सभापति सबुज बानियाँले बताए ।

कांग्रेसको विधान अनुरुप प्रत्येक वर्ष महासमिति बैठक बस्नुपर्ने प्रावधान छ । महाधिवेशन भएको वर्ष भने महासमिति बैठक नहुने विधानमा उल्लेख छ । १३औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएपछि महासमिति बैठक हुन सकेको छैन । 

पार्टी सभापतिको संयोजकत्वमा महासमिति मूल आयोजक समिति बनाइएको छ । व्यवस्थापनको जिम्मेवारी उपत्यकाका तीन जिल्लालाई दिइएको छ । काठमाडौंको जिल्ला सभापति व्यवस्थापन समितिको संयोजक र ललितपुर र भक्तपुर जिल्ला सभापति सदस्य हुने गरी उपसमिति बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्