विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सहमति



काठमाडौँ । विपक्षी गठबन्धनका तीन शीर्षहरुबीच छलफल भएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार साँझ छलफल भएको हो ।
छलफलमा उनहरुबीच विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सहमति बनेको छ । छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको हो ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमकाअनुसार नेताहरुले वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो भन्नेमा पुनः स्पष्टता जनाएका छन् । उनकाअनुसार नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रममाथि पनि समीक्षा भएको छ ।
यसबाहेक नेताहरुले आपसी सम्बन्ध बलियो बनाउने तथा एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता पनि जनाएको गौतमले बताए ।
कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् ।
यसैगरी, गठबन्धनका नेताहरुले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको र अदालतको निष्पक्षतामा र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा गठबन्धनका नेताहरुले आंशका गरेका छन् । उनीहरुले यस्ता निकायबाट निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण पनि गराएका छन् ।
यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि गौतमले बताए । छलफलमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्