केन्द्र सरकारको सांगठनिक ढाँचाप्रति प्रदेश–२ का मन्त्रीको आपत्ति



जनकपुरधाम : प्रदेश २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले संघीय सरकारको सांगठनिक संरचना प्रति आपत्ति जनाएका छन् ।

दुई जिल्लामा सेवा प्रवाह गर्न एक मात्र कार्यालयले संचालन गर्ने गरी बनाउने सांगठनिक संरचनाप्रति मन्त्री सोनलले आपत्ति जनाएका हुन् । धनुषामा बिहीबार यातायात पुर्वाधार निर्देशनालय र पुर्वाधार विकास कार्यालयको उद्घाटन गर्दै उनले हरेक जिल्लामा कार्यालय संचालन गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘धनुषामा कार्यालय संचालन गर्दा महोत्तरीको ग्रामिण भेगमा कुनै पनि हालतमा सहज सेवा प्रवाह गर्न सकिँदैन । त्यसैले हरेक जिल्लामा कार्यालय खोल्नुपर्छ ।’ उनले सबै जिल्लामा कार्यालय संचालन गर्ने निर्णय प्रदेश सरकारले गरेको पनि बताए ।

प्रदेश सरकारले संघीयता गुम्न नदिन आवश्यक कानुन बनाउने, कार्यालय खोल्ने र व्यवस्थापन गर्ने पनि उनले बताएका छन् । साथै संघीय सरकारको अकर्मण्यताका कारण अहिलेसम्म यातायात कार्यालय प्रदेश सरकारको मातहत नआएकोमा उनले दुःख व्यक्त गरे । संघीय सरकारले जे जस्तो गरे पनि आफूहरु ‘जहाँ आवश्यकता, त्यहाँ बजेट’को नीतिले अगाडि बढ्ने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्