राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त



काठमाडौं : राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि ती कर्मचारी बर्खास्तीमा परेका हुन् ।

२९ असोजमा पार्टीले तलब र दसैँ खर्च दिँदै आइन्दा कार्यालय नआउन भनेको थियो । कर्मचारी बर्खास्तीमा परेपछि राजपाको केन्द्रीय कार्यालयको चिठीपत्र तयार गर्ने कोठा बन्द छ । राजपाको केन्द्रीय कार्यालय बबरमहलमा सारेदेखि नै कर्मचारीहरू आर्थिक अनियमिततामा मुछिएका हुन् ।

पार्टी एकताको क्रमसँगै ६ वटै समूहबाट आएका कर्मचारीहरूबीच सुरुदेखि आर्थिक कारोबारका विषयमा विवाद भइरहेको थियो । राजपाबाट बर्खास्तीमा परेका एक कर्मचारीका अनुसार आर्थिक कारोबारको जिम्मा पाएका प्रदीप पाठकले कमिसन एक्लै बुझ्ने गरेको भन्दै पार्टी पदाधिकारीलाई अन्य कर्मचारीले पटकपटक सुनाउने गरेका थिए ।

कार्यालयको पुनर्निर्माण तथा आवश्यक सामग्री खरिद गर्दा कमिसन लिने गरेको भन्दै पार्टीभित्र निकै पहिलादेखि चर्चा भइरहेको थियो । यही प्रकरणका कारण कार्यालय सचिव प्रदीप पाठक र राजेश चौधरीबीच बोलचाससमेत बन्द थियो । 

खुला प्रतिस्पर्धाबाट नयाँ कर्मचारी भर्ना गर्न पुराना कर्मचारीलाई हटाएको महासचिव मनीष सुमनले जानकारी दिए । सुमनका अनुसार कार्यालयमा जथाभावी भइरहेको भन्ने गुनासो व्यापक आएका कारणले पनि उनीहरूलाई हटाइएको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्