टोक्योमा ३२ औं गृष्मकालीन ओलम्पिक सुरु



काठमाडौं । विश्व खेलकुदकै महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२ औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा भएको छ । आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोहलाई भव्य बनाइएको छ ।
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । ६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोनाभाइरसको महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ । यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् । सहभागी देशका खेलाडी र अफिसियलहरूको मार्चपास गरेका छन् ।
जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ । औपचारिक रुपमा ओलम्पिक सुरु हुँदै गर्दा टोकियोमा कोभिड १९ संक्रमितको संख्याले पनि दिनहुँ रेकर्ड बनाइरहेको छ । त्यसैले महामारीले तीव्र रुप लिनसक्ने भन्दै स्थानीयबासीले ओलम्पिक आयोजनाको विरोध गरेका छन् ।
नेपालले पहिलोपल्ट ओलम्पिकमा सन् १९६४ मा सहभागिता जनाएको थियो, जुन जापानी राजधानी टोकियोमै भएको थियो । गृष्मकालीन ओलम्पिक ५७ वर्षपछि टोकियो फर्किएको हो । कोरोना भाइरसको महामारीको कारण गत वर्ष सम्भव नभएपछि एक वर्ष ढिला आयोजना गरिएको हो । अगस्ट ८ सम्म सञ्चालन हुने ओलम्पिकमा ३३ खेल समावेश गरिएको छ । औपचारिक उद्घाटन शुक्रबार गरिएपनि विभिन्न खेलका प्रतिस्पर्धा दुई दिनअघि नै सुरु भइसकेको छ ।
उद्घाटनमा नेपालको झण्डा पौडीबाज गौरीका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोकेका थिए । नेपालको मार्च पासमा जुडो खेलको व्यवस्थापकका रुपमा पुगेकी एमाले उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि देखिएकी छन् ।
जुडो खेलसँग सम्बन्धित नै नरहेकी उनी टोक्यो ओलम्पिकमा सहभागी हुन खेल पदाधिकारीका रुपमा गएको भन्दै चर्को आलोचना भइरहेको छ । उनी संघीय संसदमा एमालेबाट समानुपातिक सांसद रहेकी छन् ।

मार्च पासमा नेपालका सेफ द मिसनका रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालसहित ६ पदाधिकारी सहभागी भए । टोक्यो ओलम्पिकमा नेपालबाट ४ खेलका लागि ५ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।
नेपालबाट ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठसहित २५ जना पदाधिकारी पुगेका छन् । टोक्यो ओलम्पिकमा सहभागी नै नभएका खेलका पदाधिकारी पनि नेपालबाट गएका छन् ।

प्रतिक्रिया दिनुहोस्