दसैंमा खुल्ने भनिएकाे टिकट बुकिङ फेरि अन्याेलमा



काठमाडाैं : दसैँ–तिहारमा घर जाने यात्रुको सुविधाका लागि शुक्रबारबाट खुला गर्ने भनिएकोे ‘टिकट बुकिङ’ नखुल्ने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीको काठमाडौंमा बिहीबार बसेको बैठकले बुकिङ नखोल्ने निर्णय गरेको हो ।

 

सरकारले व्यवसायीका माग सुनुवाइ नगरेकाले तत्काल बुकिङ खोल्न नसकिने निर्णय बैठकले गरेको महासंघका महासचिव सरोज सिटौलाले बताए । ‘हामीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन ४८ घन्टे अल्टिमेटम दिएका थियौँ, बिहीबार समय सकियो,’ उनले भने, ‘सरकारले हाम्रो माग सुनवाइ गरेन । त्यसैले अग्रिम टिकट बुकिङ खोल्न नसक्ने भयौँ ।’

व्यवसायीले तोडे सहमति

यसअघि गत आइतबार यातायात व्यवस्था विभाग र महासंघबीच भएको वार्तामा यातायात व्यवसायीले शुक्रबारबाट ‘टिकट बुकिङ’ खोल्ने, यात्रुको सुविधाका लागि १४ ठाउँमा हेल्पडेस्क राख्नेजस्ता सहमति भएको थियो । वार्तामा व्यवसायीले प्रमुख रूपमा उठाउँदै आएको देशभरिका यातायात समिताको बन्द बैंक खाता खुलाउने विषयमा सहजीकरण गर्न विभागले प्रतिबद्धता जनाएको थियो ।

 

चालकको विरोध कार्यक्रम स्थगित ‘पेट्रोल शुक्रबारदेखि सहज’

नयाँ मुलुकी संहितामा रहेका प्रावधानको विरुद्धमा आन्दोलनरत सार्वजनिक यातायातका चालकले विरोधका कार्यक्रम स्थगित गरेका छन् । सरकारले आफ्ना माग पूरा गर्न सम्बन्धित निकायमार्फत पहल गर्ने सहमति गरेपछि नेपाल स्वतन्त्र सवारीचालक संघर्ष समितिले विरोधका कार्यक्रम स्थगित गरेको हो । यातायात मजदुरको आन्दोलन स्थगित भएसँगै पेट्रोलियम आपूर्ति पनि सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्