बालिका बलात्कार मुद्दामा गलत मेडिकल रिपोर्ट दिने दुई डाक्टर विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत प्रतिवेदन (मेडिकल रिपोर्ट) दिने दुई डाक्टरमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । जनकपुर अञ्चल अस्पतालका डा. विजयकुमार सिंह र डा. रम्भा गोइत विरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले विशेष अदालतमा उनीहरुलाई सरकारी चिकित्सकको पद  दुरुपयोग गरी भ्रष्टाचार गरेकाले हदैसम्म जेल सजाय माग गर्दै मुद्दा दायर गरेको हो । 

१२ वर्षिया बालिकाको बलात्कार सम्बन्धी  स्वास्थ्य परिक्षणमा गलत रिपोर्ट दिएको आरोपमा उनीहरुलार्इ निलम्वन गर्नुका साथै लाइसेन्स समेत रोक्का गरिएको छ । शुक्रवार उनीहरु विरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा पनि दायर गरिएको हो ।

२०७५ भदौ ८ गते जवरजस्ती करणी पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी गलत रिपोर्ट दिएको भन्दै यसअघि नै सरकारी वकिलको कार्यालयले निलम्वन गर्न सिफारिस गरेपछि उनीहरु कारबाहीमा परेका थिए ।  नेपालल मेडिकल काउन्सिलले  २५ असोजमा उनीहरुलार्इ निलम्वन गरेको थियो 

। 

काउन्सिलको अर्को निर्णय नआउँदासम्म दुवै डाक्टरले चिकित्सकीय अभ्यास गर्न रोक लगाएको हो । २०७५ भदौ २५ गते जिल्ला अस्पताल सिराहामा गरिएको पीडित बालिकाको स्वास्थ्य परिक्षण प्रतिवेदनबाट उनीहरुले गलत प्रतिवेदन दिएको देखिएको थियो ।  

जनकपुर अञ्चल अस्पतालका चिकित्सकहरु सिंह र गोइतले बालिकाको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकले संवेदनशील रुपमा न्यूनतम गर्नसक्ने र गर्नुपर्ने काम समेत नगरी चरम लापरवाही गरी अनुसन्धान कार्यलाई प्रभावित पारेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

बलात्कार भएकी बालिकाको बलात्कार नभएको भन्दै डा. सिंह र डा. गोइतले अभियुक्तको पक्षमा रिपोर्ट बनाएपछि काउन्सिलले छानबिन समिति बनाएको थियो । 

समितिले सिफारिस गरे बमोजिम बालिकाको शारीरिक जाँच गर्ने चिकित्सकद्वय गोइत र सिंहले न्युनतम चिकित्सकीय आचरण तथा व्यवहार विपरीत मेडिकल रिपोर्ट बनाएको ठहर गर्दै व्यवसायिक प्रमाणपत्र निलम्वन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्