हाम्राे पत्रकारिताकाे उचाइ कति ?



अहिले नेपालमा पत्रकार बन्नेको लहर चलेको छ । तर वास्तविक पत्रकार सीमित छन् । युट्युबमा हरौं पत्रकार, अनलाइन माध्यमहरुमा हेरौं पत्रकार । हरेकले आआफ्नै युट्युब च्यानल खोले, आआफ्नै अनलाइन खोले । तर पत्रकारिता नै अध्ययन गरेका, पत्रकारिताको ज्ञान भएका, पेसागत मर्यादा र खोज पत्रकारिता गर्नेहरु अझ न्यून छन् ।

‘पत्रकार’ भन्नाले सञ्चारमाध्यममा समाचार सामग्री संकलन, उत्पादन, सम्पादन र सम्प्रेषण जस्ता कार्यसँग आबद्ध प्रधान सम्पादक, सम्पादक, सम्पादक मण्डलको सदस्य, संवाददाता, स्तम्भलेखक, विश्लेषक, स्वतन्त्र पत्रकार, फोटो पत्रकार, प्रेस, क्यामेरापर्सन, व्यंग्य चित्रकार, रेखाचित्रकार, कार्यक्रम निर्माता, निर्देशक, प्रस्तुतकर्ता वा सञ्चालक, साजसज्जाकर्ता, दृश्य सम्पादक, भाषा सम्पादक जस्ता पत्रकारितामूलक कार्यसँग सम्बन्धित सञ्चारकर्मी सम्झनुपर्छ ।’

पत्रकारिताको ज्ञान नभएको अवस्थामा ऊ पत्रकार हुनै सक्दैन । तर, पत्रकारको भाषाले सबैलाई पत्रकार बनाइदिँदा को हुन पत्रकार भन्ने नै छुट्याउन सकिएको छैन । हिजोआजको प्रविधिको विकासले पत्रकारिता पेसा हलुका बनाइदिएको छ ।

सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनीयता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता आदि पत्रकारितामा हुनुपर्ने आधारभूत कुरा लागु कहाँ हुँदै छ त ? एक जनाले डलर खेती गर्न अनलाइन खोलेर ल आयो फलानो ठाउँबाट दुखद् खबर सेयर गरौं भन्दै लेख्नेलाई पत्रकार मानौं कि ? कि युट्युबमा भेटियो निर्मलाको बलात्कारी र हत्यारा भन्दै थम्बनेल राखेर भिडियो भाइरल बनाउनेलाई पत्रकार मान्ने ?

अमेरिकी पत्रकारद्वय बिल कोभाच र टोम रोसेन्स्टिअलले आफ्नो पुस्तक ‘इलिमेन्टस अफ जर्नलिजम’मा भनेका छन्– इन्टरनेटको उपस्थितिले एक्काइसौँ शताब्दीमा जोसुकै पत्रकार बन्न सक्छ तर उसले सही अर्थमा सैद्धान्तिक आधारहरूलाई बुझेर व्यवहारमा उतार्ने गरी पत्रकारिता गरेको हुनुपर्छ ।

नेपालमा पत्रकार हौं भन्दै सबैले विध्वंश मच्चाउन थाले । गाउँगाउँमा खोलिएका एफएम रेडियोले आकर्षित गरेका सामान्य कार्यक्रम सञ्चालन गर्ने पनि पत्रकार मान्ने या नमान्ने ? सजिलै मिडिया प्रवेश गर्नेहरुलाई के अर्थमा सम्बोधन गर्ने त ?

पत्रकारितासम्बन्धी कुनै एउटा काम गर्दैमा जोकोही पत्रकार भइहाल्ने होइन, त्यो काम उसले व्यावसायिक मापदण्डलाई बुझेर र अपनाएर गरेको छ कि छैन त्यो महत्वपूर्ण कुरा हो । पद प्राप्त गरेकै आधारमा हुने पत्रकारलाई खासमा ‘पदेन पत्रकार’ भने हुन्छ । नेपाल पत्रकार महासंघमा पदेन पत्रकारहरूले साँच्चिकै श्रमजीवी पत्रकारहरूलाई विस्थापन गर्न सक्ने जोखिम बढेको छ ।

हाम्रो पत्रकारिताले नांगा र छाडा तस्बिरसमेत छाप्न पछि परेन । जसको परिणाम निकै वर्षअघि नेपाली नायिक श्रीषा कार्कीले आत्महत्यासमेत गरिन् । आफूलाई ठूलो मिडिया हाउसको ‘खराँट पत्रकार’ को फूर्ति लगाउने समेत मन्त्री र सचिवद्वारा आफ्नै घरमा दास बनाएर राखिएका बालबालिकामाथि निर्घात कुटपिट हुँदा बोल्न सक्दैनन् । कसैकसैले त्यो साहस गरे पनि पत्रिकाको अन्तिममा सानो ठाउँ दिन्छन् ।

आखिर यस्तो किन हुन्छ ? राणाकालीन सनद सवाल होस्, चाहे पञ्चायती शाही कमिसन, अथवा अहिलेका संयन्त्र । सबैले पत्रकारको कलमलाई सत्ता र सिद्धान्तको दास बनाउन लागिपरे जसले आज प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंधमाथि आरोप लाग्ने गरेको छ । प्रेस काउन्सिलमा उजुरी गर्नेको संख्या पनि ह्वात्तै घटेको देखिन्छ । पीडित पक्ष काउन्सिलभन्दा अदालतको दैलो ढक्ढकाउन पुगेका छन् ।

प्रेस काउन्सिल पनि यति कमजोर हुनुमा नेपालमा सूचनासम्बन्धी प्रभावकारी कानुन अभाव हुनु, भएको कानुनको पनि प्रभावकारी कार्यान्वयन हुन नसक्नु, सूचना लुकाउने प्रवृत्तिको विकास हुनु, अनुमानको आधारमा कानुनविहीन अवस्थामा अनुगमन गर्नुलगायतका कारण देखिन्छ । यति मात्र नभई विभिन्न राजनीतिक पार्टी र नेताको छत्रछायाँमा हुर्केका अधिकांश पत्रकारका कारण तथा आचारसंहिताको चर्को नारा लगाउने तर व्यवहारमा लागू नगर्ने प्रवृत्ति प्रेस काउन्सिलको खुट्टामा जाँतो बनेको छ ।

नेपाली पत्रकारिताले आफ्नो यात्राको एक सय वर्ष पूरा गरिसकेको र दर्जनौँ आचारसंहिता बनिसकेको अवस्थामा पनि नेपालमा पत्रकारिता एउटा मर्यादित पेसाको रूपमा स्थापित हुन नसक्नु दुःखद पक्ष हो र यस पेसासँग सम्बन्धित सबैको ठूलो कमजोरी पनि हो ।

अरू पेसाको जस्तै पत्रकारिताको पनि आचारसंहिता छ । राज्यको चौथो अंगको रूपमा स्वीकारिएको यो पेसाकर्मीले आफ्नो आचारसंहिताभित्र बसेर काम गर्छ भने आमनागरिक सुसूचित हुनुका साथै जनमानसमा यो पेसाप्रतिको सम्मान पनि बढ्छ ।

पत्रकारिता पेसा पूर्ण स्वतन्त्र हुनुपर्छ तर स्वतन्त्रताको अर्थ अनियन्त्रित र अराजक भने पक्कै होइन । स्वतन्त्रताको नाममा कसैको चरित्र हत्या, अमर्यादित भाषाको प्रयोग, आधारहीन समाचारको सम्प्रेषणले सिंगै पेसाको साख घटाउँछ ।


पत्रकार भन्नासाथ हाँस्छन्

अहिलेको स्थितिमा आइपुग्दा कुनै गाउँ जाँदा होस् वा कोठा खोज्न जाँदा खोज्दा होस् पत्रकार भनी परिचय दिँदा सुन्नेलाई अचम्म लाग्छ । उनी हाँस्छन् पनि । हाँस्नुको कारण के त ? किन हाँस्छन् पत्रकार भनी चिनाउँदा ? पत्रकारिता गर्ने हामी जिम्मेवार नभएरै मान्छे हाँसेका हुन् भने हामी जिम्मेवार पत्रकार बनेका रहेछौं त ? विषय गम्भीर छ ।

यसर्थ पत्रकारिता पसा सबैले उडाउने हावा भरिएको बेलुनजस्तो भइसक्यो । ज्युँदै मान्छेलाई म‍र्यो भनेर श्रद्धाञ्जलि दिने पनि पत्रकारकै पेसामा अटाएपछि के अर्थ रह्यो र ? हाम्रो परिभाषाका आधारमा भारतमा ‘कौन बनेगा करोडपति’ चलाउने अमिताभ बच्चन र ‘बिग बोस’ चलाउने सलमान खानलाई पत्रकार भन्न सकिने स्थिति देखा पर्न थाल्यो ।

 

आजभोलि पत्रकारको मूल्य किन खँस्कँदै छ त ? पत्रकारको नाममा दुईचार पिस मासु र भोड्कासँग समाचार लुकाउनेहरु, गलतलाई लुकाएर चाकरी गरी पत्रकारिता गर्नेहरु । मह ओसार्ने माहुरी हुँ कि सरुवा रोग भित्र्याउने झिँगाबाहेक अरु के हुन सक्छन् ?

पत्रकारिता गर्न यति नै पढ्नु तथा अध्ययन गर्नुपर्छ भन्ने कुनै मापदण्ड नभए पनि एक दशक पुग्न थालेको मेरो पत्रकारिताको अनुभवको आधारमा र मेरो बुझाइमा कुनै पनि पत्रकारले ‘पत्रकारितालाई पुग्ने जति’ विविध भाषासहितको अध्ययन गर्नुपर्छ अर्थात् आफू पाठक, दर्शक तथा स्रोता बनेर आफ्नो लेखाइ, बोलाइ, र प्रसारणमा यो कुरा पुगेन भनेर गुनासो गर्ने स्थान हुनु हुँदैन त्यही नै पत्रकारितालाई चाहिने पढाइ हो ।

रिपोर्टर वा संवाददातासँग निश्चित समय सीमाभित्र लेखन, सम्पादन, अनुवाद एवं क्यामरा चलाउने क्षमता हुनुपर्छ । रेडियो पत्रकारसँग भाषिक शुद्धता र स्पस्टताका साथै प्राविधिक क्षमता पनि हुनुपर्छ र समाचार वाचकसँग अनुवाद गर्ने, सम्पादन गर्ने तथा समाचार लेखनसम्बन्धी क्षमता पनि हुनुपर्छ । भाषामा दक्षता, अत्याधुनिक प्रविधिको प्रयोग र निरन्तर सक्रियता पत्रकारिताका प्रमुख हतियार हुन् । यी हतियारको प्रभावकारी प्रयोग गर्न सक्नुपर्छ, यही नै पत्रकारको योग्यताको सीमा हो ।

जुन व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ । पत्रकारिता अन्य पेसा १० देखि ५ को एउटा कोठाको जस्तो निश्चित समयको जागिर होइन । यो यस्तो नशासहितको पेसा हो, जुन रातदिन पिउनुपर्छ । यस नशाले धनलाई गौण र परिवर्तन, सचेतना र अग्रगमनलार्ई प्राथमिकता दिन्छ । यो रुपान्तरणको सम्वाहक बन्न सक्नुपर्छ । पत्रकारिता हतारको साहित्य भए पनि यसमा समयबद्धता र भाषिक शुद्धता एवं प्रस्ट तथा सत्यमा विशेष ख्याल गरिनुपर्छ ।

खाली मस्तिष्कले प्रभावकारी पत्रकारिता हुन सक्दैन । पत्रकार वास्तविक घटनासित सधैं नजिक हुनुपर्छ र कम्तीमा एक वर्षको विशिष्ट पत्रकारिता तालिमबाट परिपूर्ण हुनुपर्छ । नेताहरुले आफ्नो पक्षमा बढी वकालत गर्ने भएकाले पत्रकारले आफ्नो पत्रकारिताको माध्यमबाट जनतालाई सत्य, तथ्य तथा निष्पक्ष विवरण प्रस्तुत गर्न सक्नुपर्छ । अनि मात्र पत्रकारिता साँचो अर्थमा जीवित रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्