पहिलो चरणमा १२५ श्रमिक इजरायल जाँदै



काठमाडौं : इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएका उम्मेदवारमध्ये पहिलो चरणमा एक सय २५ जना इजरायलका लागि प्रस्थान गर्नेछन्। वैदेशिक रोजगार विभागले इजरायल जानका लागि छनोट भएका मध्ये एक सय ४३ जनाको इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा एक सय २५ जना पहिलो चरणमा इजरायल प्रस्थान गर्ने भएका हुन्।

वैदेशिक रोजगार विभागका अनुसार भिसा जारी भएकाहरू आउँदो माघ ५ गते इजरायल प्रस्थान गर्नुपर्ने भएकाले मंगलबार नै टिकट बुक गर्न आह्वान गरिएको छ।

विभागका महानिर्देशक दीपक काफ्लेले इजरायलबाट रोजगार सम्झौता प्राप्त भएका उम्मेदवारको भिसा आउन सुरु भइसकेको जानकारी दिए। इजरायल जानका लागि छनोटमा परेका एक सय २५ जनालाई मंगलबार टिकट बुक गरेर अन्य प्रक्रिया सुरु गर्न आग्रह गरे। ‘फस्ट कम फस्ट सर्भिस’ आधारमा टिकट बुक गर्न नसक्नेका हकमा क्रमशः अर्को तीन/चार दिनपछि अर्को उडानमार्फत जान पाउने पनि उनले जानकारी दिए।

विभागका अनुसार भिसा आएकाहरूले नक्सालस्थित नागपोखरीमा रहेको सिलिक्ज होलिडेज प्रालि नामक कम्पनीबाट टिकट बुक गर्नुपर्ने जनाइएको छ। टिकट बुक गर्नुपूर्व हात्तीसारस्थित सिद्धार्थ बैङ्कको शाखामा ५९ हजार ९९० रुपियाँ जम्मा गर्नुपर्ने विभागले जनाएको छ।

‘फस्ट कम फस्ट सर्भिस’का आधारमा टिकट बुक गरेका १२५ जनाका लागि पुस २९ गते वा बिहीबार व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैंसेपाटीमा बिहान १० बजेदेखि ४ बजेसम्म उपस्थिति भएर बायोमेट्रिक हाजिरी गर्नुपर्नेछ भने पुस ३० गते र माघ २ गते सोही प्रतिष्ठानमा अभिमुखीकरण तालिम लिनका लागि उपस्थिति हुनुपर्ने विगागले जनाएको छ।

महानिर्देशक काफ्लेले विभागले हाल कोभिड–१९ विरुद्धको खोप लगाएका तथा लगाउन बाँकी रहेका युवाको नामावली अध्यावधिक गर्ने काम गरिरहेको छ। विभागले कात्तिकमा पाँच सय र मंसिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो। नामावली प्राप्त भएका युवाको हस्ताक्षर प्रयोजनका लागि श्रमिकलाई विभागमा उपस्थित गराउने तयारी गरेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्