संक्रमण बढ्न थालेसँगै नाकामै परीक्षण



काठमाडौं : भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि भारतसित जोडिएको कैलालीको दक्षिण–पूर्वी नाका सत्ती भन्सार हुँदै नेपाल प्रवेश गर्नेको संख्यामा वृद्धि भएको छ। कामको सिलसिलामा भारत गएका नेपाली कोरोना जोखिम बढेसँगै घर फर्किन थालेपछि स्थानीयमा त्रास बढेको छ।

भारतमा दैनिक संक्रमणदर बढ्दै जाँदा नागरिक विगत वर्षमा जस्तो बन्दाबन्दी हुने हो कि भन्दै घर फर्किन थालेका छन्। बर्दियाको राजापुरका सञ्जय चौधरी त्यही त्रासले भारत गएको तीन महिनामै घर फर्किए।

अहिले सत्ती भन्सारबाट दैनिक सयौँ नागरिक घर फर्किन थालेका छन्। खक्रौला हेल्थ डेस्कका प्रमुख मकेन्द्र रोकायाका अनुसार माघीको एक–दुई दिन अगाडिसम्म दैनिक ५ सयभन्दा बढी नेपाली सत्ती नाकाबाट प्रवेश गरेका छन् भने अहिले पनि सोही संख्यामा नेपाली स्वदेश फर्किरहेका छन्।

भारतबाट नेपाल आउने नागरिकलाई विशेष निगरानीमा राख्ने गरिएको रोकायले बताए। शंकास्पद व्यक्तिको एन्टिजेट परीक्षण गर्ने र खोप नलगाएकालाई सीमामै खोप लगाएर पठाउने गरिएको उनको भनाइ छ। ‘कोरोना परीक्षण गर्ने गरेका छौं, परीक्षणका क्रममा कसैलाई पोजेटिभ देखिए टीकापुर अस्पतालबाट एम्बुलेन्स मगाएर टीकापुरमै होल्डिङ सेन्टरमा राख्ने गरेका छौं,’ रोकायाले भने, ‘भारतबाट आउने वा भारत जाने नागरिकका लागि खोपकार्ड अनिवार्य गरेका छौं, खोप नलगाएकालाई लगाएर पठाउने गरेका छौं।’

टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बलबहादुर रावलले सत्ती भन्सारबाट नेपाल प्रवेश गर्ने नागरिकका लागि नगरपालिकाले विशेष सावधानी अपनाएको बताए। उनले नागरिकको आगमन चापलाई हेरेर हेल्थ डेस्कमा तीन स्वास्थ्यकर्मी खटाइएको बताए। ‘दैनिक बिहान ६ देखि साँझ ६ बजेसम्म हेल्थ डेस्कबाट सेवा प्रवाह हुँदै आएको छ। भारतबाट आउने तथा जानेको तथ्यांक राख्ने गरेका छौं।’ खुला सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकलाई सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले निगरानी गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्