नेपाली सेनाका उपरथीद्वय खड्का र पाण्डेको म्याद थप



काठमाडौँ । सरकारले नेपाली सेनाका उपरथीद्वय सीताराम खड्का र ताराध्वज पाण्डेको कार्यकालको म्याद दुई वर्ष थप गरेको छ । सरकारको उक्त निर्णयसँगै अर्का उपरथी अनन्त कार्की नियमित ३ वर्षे समयअवधि पूरा गरेर केही दिनमा अवकाशमा जाने भएका छन् ।
प्रधानसेनापति प्रभुराम शर्माले पुस १७ गते उपरथीद्वय खड्का र पाण्डेको म्याद थप्न सैनिक ऐनको दफा १७ अनुसार सिफारिस गरेका थिए । जंगी अड्डाको सिफारिसअनुसार मन्त्रिपरिषद्ले ती दुई उपरथीको म्याद थप्ने निर्णय गरेको हो । म्याद थपिएसँगै उपरथी पाण्डेलाई प्रधानसेनापति शर्मापछिको सम्भावित सैनिक प्रमुखको रुपमा पनि हेरिएको छ । उपरथी कार्की भने म्याद नथपिएपछि यही माघ २३ गतेबाट नियमित अवकाशमा जाँदैछन् । नियमित अवकाशमा जानुभन्दा १५ दिनअघि बिदामा बस्ने सैनिक परम्पराअनुसार कार्की यसै साताबाट घर बिदामा बस्ने सैनिक मुख्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्