भरतपुर अस्पतालमा जिओपिडि र नियमित शल्यक्रिया सेवा बन्द



चितवन । चितवनको अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आइतबारदेखि बन्द गरेको छ ।
शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी संक्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो ।
सेवा बन्द भएपछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि संक्रमणको लक्षण देखिएका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार ९ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी, कर्मचारी संक्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झै सञ्चालन गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्