मन्त्री यादवको दावी : मैले सिके राउतलाई मार्ने धम्की दिएको छैन



काठमाडौँ : विवादास्पद अभिव्यक्तिका कारण चौतर्फी आलोचित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो स्पष्टीकरण दिएकी छन् । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । 

रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्‍याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन् । 

‘हाम्रो पार्टीको भ्रातृसंगठन ‘समाजवादी युवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन् ।  ७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र  मधेशी जनअधिकार फोरमले गौरको राइस मिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहोर्याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ । 

तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्जित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति सचेत रहनेछ ।’

विज्ञप्तिको पूर्णपाठ

नेपालमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वषौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अपण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ’बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ । 

त्यसै क्रममा हाम्रो पार्टीको भ्रातृसंगठन ‘समाजवादी यूवा सङ्घले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दुराशयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।

मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछ । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । आगामी दिनमा यसप्रति सचेत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्