पशुपति धर्मशाला सञ्चालन गर्न बताससँग गरिएको सम्झौता खारेज हुँदै



काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता अन्ततः खारेज हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानविन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता मंगलबार खारेज गर्न लागेका हुन् । मंगलबार नै पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्नेछ ।
यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए । छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिइसकेका छन् ।
समितिले सम्झौता गैरकानुनी भएको समेत सुझाव दिएको छ । पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ ।
त्यस्तै, पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीलाई सर्वसुलभ रूपमा खान र बस्न सहज होस् भनेर भारत सरकारको ४० करोड लगानीमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा ‘होटल आनन्द’ सञ्चालन गर्न दिँदासमेत ठेक्का सम्झौतामै मिलेमतो गरेको प्रतिवेदनले देखाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्