सडकका खाल्डाखुल्डीका कारण आमनागरिकको ज्यान जोखिममा, सरकारी निकाय दोषारोपणमै व्यस्त



काठमाडौं : सडकका खाल्डाखुल्डीका कारण नागरिकको ज्यानै जाँदा पनि सरोकारवाला निकाय एक अर्कालाई दोषारोपण गर्नमै व्यस्त छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा यसबारे छलफल गर्न बोलाइएका विभिन्न निकायका पदाधिकारीले पनि जिम्मेवारी लिनुको सट्टा पन्छिन मात्रै खोजे ।

छलफलका क्रममा ट्राफिक प्रहरीका अधिकृतले सडकका खाल्डाखुल्डीका कारण महानगरमा ट्राफिक व्यवस्थापन र दुर्घटना कसरी भइरहेको छ भन्ने प्रस्तुति गरेका थिए । विद्युत प्राधिकरण र टेलिकमले पोल नपन्छाउँदा विस्तारित बाटो कालोपत्रे गर्न नसकेको काठमाडौं महानगरपालिकाले गुनासो गर्यो । 

विद्युत प्राधिकरणका प्रतिनिधिले तत्कालै प्रतिवाद गरे । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ढल र पानीको चुहावटले सद्दे सडकमा समेत खाल्डा खुल्डी हुने गरेको भौतिक पूर्वाधार मन्त्रालयको आरोप रह्यो । यस्तै आरोप प्रत्यारोपमा छलफल केन्द्रित रह्यो ।

जिम्मेवारी नलिने र सडकमा जथाभावी खाल्डा खनेर छाड्ने प्रवृत्तिका कारण आमनागरिक ज्यान जोखिममा राखेर हिँड्नुपरेको छ । गत शनिबार साइकलमा सवार एक युवकको सडककै खाल्डामा परेर ज्यान गयो । 

संरचना निर्माणमा लापरवाहीका कारण पटकपटक यस्ता घटना भइरहे पनि अहिलेसम्म कसैलाइ जिम्मेवार ठहर्याइ कारवाही भएको छैन ।  शुक्रबारको छलफल पनि दोषी को हो, जिम्मेवारी कसले लिने र अनाहकमा नागरिकले ज्यान गुमाउँदा क्षतिपूर्ति कसले बेहोर्ने भन्ने निर्क्योल गर्नतिर लागेन । 

सरकारी निकायबीच कामको प्राथमिकता निर्धारण र आपसी समन्वय नहुँदा सडक जोखिम क्षेत्रमा परिणत भएको छ । यस्तै  गैरजिम्मेवार प्रवृत्ति कायम रहेसम्म यात्रुले दुःख पाइरहने र दोषी उम्किरहनेछन् ।

प्रतिक्रिया दिनुहोस्