राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एमाले ‘क्लिन स्विप’



सुदुरपश्चिम : राष्ट्रियसभा सदस्यको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको ‘क्लिन स्विप’ भएको छ । प्रदेशमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवार विजयी भएका छन् । आज साँझ आएको मत परिणाममा गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार विजयी भएका हुन् ।

खुला सदस्यतर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् । उनले प्रदेशसभा सदस्यबाट ५२ मत खसेकामा ३९ मत प्राप्त गरे। यस्तै, स्थानीय तहतर्फ १ सय ७५ मत खसेकामा उनले १०४ मत पाए । उनको मतभार प्रदेशतर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ छ ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १ हजार ८ सय ६६ मतभार पाएका हुन् । महिलातर्फ सुदूरपश्चिम प्रदेशबाट नेकपा (एकीकृत समाजवादी)की मदनकुमारी शाह (गरिमा) निर्वाचित भएकी छन् । शाहले ३ हजार ८ सय ६४ मतभार ल्याएकी हुन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी सन्तोषकुमारी शर्मा थापाले १ हजार ७ सय २६ मतभार ल्याएकी थिइन् ।

यस्तै, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन् । पार्कीले प्रदेशसभा सदस्यका तर्फबाट ५२ मत खसेकामा ३९ मत पाए भने स्थानीय तहतर्फ १ सय ७५ मत खसेकामा १ सय ५ मत ल्याएका छन् । उनको मतभार प्रदेशतर्फ १ हजार ८ सय ७२ र स्थानीय तहतर्फ १ हजार ८ सय ९० रहेको छ । उनका प्रतिद्वन्द्वी एमालेका नरेश बिकले १ हजार ७ सय ८२ मतभार पाएका छन् । यसअघि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्