प्रसिद्ध धार्मिक स्थल मालिका मन्दिरमा पूर्वाधार निर्माण



म्याग्दी : म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दिरमा पूर्वाधार निर्माण गरिएको छ । समुन्द्री सतहदेखि ३३ सय मिटरको उचाइमा अवस्थित सो मन्दिरमा पूर्वाधार निर्माण गर्न लागिएको हो । 

मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिका धुरीमा पुजा गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरि गाउँपालिकाको आर्थिक सहयोगमा पूर्वाधार निर्माण गरिएको हो ।

मालिका गाउँपालिकाको १४ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग र स्थानिय उपभोक्ता समितिको १ लाख ५९ हजार १ सय २४ रुपयाँ गरी १५ लाख ९९ हजार १ सय २४ रुपैयाँ लागतमा आयोजना निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिए ।

उनका अनुसार मालिका परिसरमा रेलिङसहित सिढि, सतल तथा पक्की पर्खालसहितको घेराबार गरिएको छ । आयोजना निर्माणसँगै देश भरिका श्रद्धालु भक्तजन प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

 ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल मालिकामा पुजाआजा गर्न आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरि पूर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताए । उनले मालिका गाउँपालिकाको मात्र नभई जिल्लाकै ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल भएको जानकारी दिए ।

मालिकामा सुविधा सम्पन्न पूर्वाधार निर्माण नहुँदा पुजा गर्न आउने श्रद्धालु तथा भक्तजनहरुले सास्ती व्यहोर्नु परेकाले मालिकामा पूर्वाधार निर्माणमा जोड दिएको अध्यक्ष रोका मगरले बताए । साथै मालिकामा पुजाआजा एवम् घुम्न जाने श्रद्धालु, भक्तजन तथा पर्यटकलाई लक्षित गरि वडा नं ७ र ६ बाट सडक निर्माण सुरु भएको अध्यक्ष रोका मगरको भनाइ छ ।

मालिकामा विशेष गरी चन्डी पूर्णिमा ,जेष्ठी पूर्णिमा र भाईटिका र बाला चर्तुदशिमा पुजाआजासहित मेला लाग्ने गर्दछ । मालिकाको पुजाआजा, दर्शन र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्