काभ्रेका दुई गाउँपालिकाले ल्होछारमा तीन दिन बिदा दिने



बनेपाः तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा यहाँका दुई गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
काभ्रेपलाञ्चोकको रोशी तेमाल गाउँपालिकाले २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष)का अवसरमा आगामी माघ १८, १९ र २० गते तीन दिन गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालय, सङ्घसंस्था र बैंक तथा वित्तीय संस्थाहरू तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तामाङ समुदायको बाहुल्यता रहेको गाउँपालिकाले ल्होछारको दिन १९ गते परेकाले सो दिनको एक दिनअघि र एक दिनपछि गरी तीन दिनसम्म सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए ।
त्यस्तै तेमाल गाउँपालिकाले पनि ल्होछारका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष सलाम सिं लामाले बताए ।
यस वर्षको तामाङ समुदायले मनाउने सांस्कृतिक तथा धार्मिक पर्व २८५८ औँ सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) आगामी माघ १९ गते परेको छ । तामाङ समुदायले ल्होछारलाई सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा मनाउने गरिन्छ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘छार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ‘ल्होछार’को अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होछार अर्थात् नयाँ वर्ष मान्ने गरिन्छ । ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्