‘जन्मदेखि मृत्युसम्म महिलामाथि विभेद’



जनकपुरधाम : प्रदेश प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले यस प्रदेशमा महिलाको अवस्था खस्किरहेको बताएका छन् ।

 

महिला हिंसाको अवस्था, न्यूनीकरण र चुनौती विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले छोरी जन्मदेखि मृत्युसम्म विभेदको शिकार भएको बताए । उनले भने, ‘हाम्रो समाजमा छोरी कोखमा हुँदै विभेदको शिकार बनाइन्छ । स्कुल, कलेज, विवाह, तथा घरमा समेत महिलामाथि विभेद हुने गर्छ ।’ 

 

प्रदेश २ सरकारले महिला हिंसा अन्त्य गर्न बेटी पढाउ, बेटी बचाऊ योजनालाई अगाडि बढाएको छ । मन्त्री यादवले प्रदेश २ सरकारले महिलाहरुलाई सुरक्षित राख्न मोबाइल एप ल्याएको र र प्रहरीमा ५० प्रतिशत आरक्षणको व्यवस्था गरिएको बताए । उनले थपे, ‘जब मधेशको छोरीको हातमा बन्दुक हुन्छ त्यति बेला गलत क्रियाकलाप गर्नेको होस उड्छ ।’

 

महिला हिंसा न्यूनीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत प्रतिबद्धता जनाए । कार्यक्रममा प्रदेश २ सभाका सदस्य कांग्रेस नेता रामसरोज यादवले महिला हिंसाबारे खुलेर सञ्चारकर्मीले लेख्ने बेला आएको बताए । उनले महिला हिंसालाई न्यूनीकरण गर्न सञ्चारकर्मी, जनप्रतिनिधि र सरोकारवाला निकायले इमानदारीसाथ काम गर्न ढिला गर्न नहुने बताए । 

 

सञ्चारकर्मीमाथि जनविश्वास बढ़ी हुने भएकाले जागरण र समस्या समाधानबारे रेडियोकर्मीले टेलिभिजनकर्मीले तथा सबै सञ्चारकर्मीले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका महिला सेल प्रमुख दीपिका ओझाले जिल्ला प्रहरी कार्यालयमा आउने गरेका घटनामध्ये बढ़ी घरेलु हिंसाका घटना हुने गरको बताइन् । उनले परिवारमा हुने सामान्य घटना पनि जिल्लामा दर्ता हुनु दुखको कुरा भएको बताइन् । 

 

ओरेक नेपालकी निर्मला काफ्लेले अन्तक्रियामा हिंसाबारे आफ्नो अनुभव र ओरेकमा आएका गुनासाबारे बोल्दै प्रदेश २ मा पछिल्लो समय बढिरहेको महिलाबारे पनि खुलेर बताइन् । 

 

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार सबै मिलेर महिला हिंसा अंत गर्न आजै देखी लाग्नुपर्नेमा उनको जोड थियो । 

 

कार्यक्रममा बोल्दै पत्रकार महासंघ महासंघ धनुषाको अध्यक्ष अनिल मिश्रले प्रहरी र जनप्रतिनिधि नै बलात्कारका घटना मिलाउन र दोषीलाई उन्मुक्ति दिने कार्य गरेकोमा आक्रोश व्यक्त गरे ।

 

विभिन्न समयमा धनुषा जिलामा महिला हिंसाको घटना भएको र त्यसलाई मिलाउन जनप्रतिनिधिले विचौलियाको काम गरेको आरोप लगाए । 

क्रियाशील पत्रकार महिला डब्लू डब्लू जे धनुषाकी अध्यक्ष रिंकु मिश्रको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका पत्रकारको समेत उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्