हुम्लाको भित्तगौँडामा चट्टानी भाग छिचोल्ने कार्य सुरु



हुम्ला : पूर्वधार विकास कार्यालय हुम्लाले खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत सिमकोट गाउपालिका-२ ठेहेस्थित भित्तगौँडाको कडा चट्टानी भाग छिचोल्ने कामले तीव्रता पाएको छ। असोज २०७६ मा सम्झौता भएको यस सडकक्षेत्रमा ठूलो चट्टानी भाग छिचोल्ने कामले दुई वर्ष बितेपछि तीव्रता पाएको हो ।

सडक निमार्णका लागि लामो समयदेखि विस्फोटक पदार्थको अभावले सिमकोट-२ मा रहेको भित्तगौँडाको सडक निमार्णको काम रोकिएको पूर्वाधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख देवी ऐडीले जानकारी दिए।

खार्पुनाथ-च्वाखोला-टापुलेख जोड्ने सडकअन्तर्गत थत भित्तगौँडामा चार मिटर कडा चट्टान छिचोल्न १५ महिनापछि विस्फोटक पदार्थ बल्ल उपलब्ध गराउन सफल भएपछि काम अगाडी बढेको कार्यालय प्रमुख ऐडीले बताए।

हिमाली जिल्ला हुम्लामा हिउदको मौसमी वर्षा, हिमपात, कोभिडजस्ता समस्या आएपछि निर्माण सामग्री उपलब्ध गराउन ढिला भएकाले काममा ढिला भएको कार्यालय प्रमुख ऐडीले बताए।

कार्यालय प्रमुख ऐडीका अनुसार भित्तगौँडाको कडा चट्टानी भाग अबको दुईरतीन महिनाभित्रै छिचोलेर सकिनेछ । यो क्षेत्रमा अझ कडा चट्टान भएकाले काम गर्न कठिनाइ भएको छ। चट्टानी भाग छिचोल्ने काम ढिलासुस्ती भएपछि स्थानीयलाई समेत आवतजावतमा समस्या हुँदै आएको छ।

१४ माघ २०७८ हुम्लास्थित नेपाली सेनाको दश जनाको टोली गएर फिस्फोट गरेको भए पनि अझै भिर विस्फोटन गर्न समय लाग्ने उनले बताए।

चट्टानी भाग छिचोल्ने कार्य भईरहेकाले सिमकोट गाउँपालिका-१ र २ र खार्पुनाथ गाउँपालिका-५ का ताक्ला, बाम्टाका नागरिकलाई आवतजावतमा समस्या निम्तिएको साथै खार्पुनाथ शिवालय त्यही ठाउँमा रहेकाले तिर्थालुदेखी दाहासंस्कारको लागि पनि समस्या भएको ठेहेका नागरिक जडिबुटी व्यवसाय संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्