भारतीय अनुदानमा महाकाली नदीमा पुल बन्ने



काठमाडौं । महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच एक सम्झौता पत्रमा हस्ताक्षर भयो । उक्त पुल भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिनेछ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटिलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउनेछ । यो परियोजना वाणिज्य, सांस्कृतिक तथा जनता–जनताबीचको सम्बन्धलाई सुव्यवस्थित बनाउन दुई देशका सरकारले प्राथमिकताका साथ अघि सारेको सीमापार कनेक्टिभिटि अनुरुप रहेको छ । पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्