संघीयतालाई थप सुदृढ बनाउनुपर्छ: वाग्मती प्रदेश प्रमुख



काठमाडौँ । वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले वाग्मती प्रदेशसभाले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकमा यसको औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
वाग्मती प्रदेशसभाको चौथो वार्षिकोत्सवका अवसरमा मंगलबार सम्बोधन गर्दै उनले २०७४ साल माघ १८ गते प्रदेशसभाको पहिलो अधिवेशन बसेदेखि आजसम्म प्रदेशसभाबाट ६१ वटा विधेयक पारित हुनुका साथै महत्वपूर्ण निर्णय भएको बताए । उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्वासनीय बनाउने जनशक्तिलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै भएको बताए । यसबाट मात्र नेपाली जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुने उनले विश्वास व्यक्त गरे ।
प्रदेशसभाले आगामी दिनमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयमा विधि निर्माण गरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरका जनताको जनजीविकाको सवाललाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए ।
उनले प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिन नहुने बताउँदै यस प्रकारका आकांक्षा र विश्वासलाई व्यवहारमा मूर्तरुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक भएको उल्लेख गरे ।
त्यस्तै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाए । उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए । उनले कहींकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्