बुधबारदेखि देशभर पानी र हिमपातको सम्भावना



काठमाडौं । बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले मङ्गलवार विशेष बुलेटिन निकालेर भोलि रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
बुधबार रातिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने भएकाले देशका धेरै ठाउँको मौसम बदली भएर कतै पानी पर्ने र हिमपात हुने भएको हो । यो प्रणालीको प्रभाव शनिवारसम्म रहने महाशाखाले जनाएको छ ।
आउँदो आइतवारदेखि क्रमिक रूपमा मौसम सुधार हुनेछ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्