१४ जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन, सोधे शान्ति सुरक्षा कस्तो छ ?



काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले विभिन्न जिल्लाको शान्ति सुरक्षाको अवस्थालगायतका विषयमा जानकारी लिन १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई फोन गरेका छन् ।

गृहमन्त्री खाणले बिहीबार बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिएका हुन् । उनले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिएका छन् ।

फोनवार्तामा गृहमन्त्री खाणले जिल्लामा कोभिड-१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गरेका थिए ।

उनले सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव , मोरङका काशीराज दाहाल, झापाका छविलाल रिजाल, बाराका कृष्णबहादुर कट्वाल, नवलपरासी पश्चिमका ध्रमेन्द्र मिश्र, रुपन्देहीका प्रजिअ ऋषिराम तिवारी सँग टेलिफोन वार्ता गरेका हुन् ।

त्यसैगरी कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डे , कैलालीका किरण थापा, बाँकेका सूर्यबहादुर खत्री, बर्दियाका सन्तबहादुर सुनार , दाङका हिरालाल रेग्मी , पर्साका उमेशकुमार ढकाल, कञ्चनपुरका रामप्रसाद पाण्डे र नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्