निर्मलाको परिवारद्वारा आन्दोलनको घोषणा



 

कञ्चनपुर  :   कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको एक सय दिन नाघिसक्दा समेत अपराधी पत्ता नलागेको भन्दै पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन् ।

 

कञ्चनपुरस्थित आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरी निर्मलाका परिवारले यही कात्तिक २५ गतेसम्म पनि अपराधी पत्ता नलगाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

 

पत्रकार सम्मेलनमा निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले यतिका दिनसम्म पनि छोरीको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन नसकेको भन्दै न्यायका लागि तिहारपछि आन्दोलनमा उत्रने बताए । उनले सरकारले आफूहरुको मागको बेवास्ता गरेको भन्दै अपराधी पत्ता लगाएर कारवाही गर्न माग गरे ।

 

निर्मला हत्याकाण्डको छानबिनका लागि विभिन्न समिति गठन गरे पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । प्रहरीले अपराधीसम्म पुग्ने कुनै सुत्र फेला पार्न सकेको छैन भने छानबिन पनि शून्यमै छ ।

 

हत्याकाण्डको छानबीनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई सेवाबाट बर्खास्त गरिएको छ । गत साउन १० गते साथीको घर पढ्न गएकी निर्मला दोस्रो दिन उखुबारीमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्