बुबाआमाको स्मृतिमा १७ लाख खर्चेर मन्दिर



गलेश्वर : ‘छोरा नभए मुक्ति पाइँदैन, स्वर्ग गइदैन’ भन्ने परम्परागत मानसिकतामा परिवर्तन ल्याइदिने गरी म्याग्दीका दुई बहिनी छोरीहरुले समाजमा उदाहरणीय काम गरेका छन् ।

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा जन्मेर हाल वैदेशिक रोजगारीका लागि हङकङमा रहेकी तमसरा गर्वुजा र पोखरामा बसोबास गर्ने सुर्यकुमारी सिङथानीले आफ्ना दिवंगत बुबाआमा दलबहादुर पुन र तुलसीदेवी पुनको स्मृतिमा १७ लाख रुपैयाँको लगानीमा जन्मथलो देविस्थानमा देविथान मन्दिरको पुननिर्माण गरिदिएर समाजमा उदाहरणीय काम गरेका छन् ।

मन्दिर निर्माणमा १७ लाख रुपैयाँ खर्च भएको निर्माण गर्दा लागेको सम्पूर्ण खर्च स्वर्गिय पुनका दुई छोरी तमसरा र सूर्यकुमारीले व्यहोरेको मन्दिर निर्माण समितिका संयोजक गम बहादुर गर्बुजाले जानकारी दिए । दशकौं अघि निर्माण गरिएको मन्दिर भत्किनै लागेकोले त्यसलाई भत्काएर प्यागोडा शैलीको नयाँ मन्दिर पुननिर्माण गरिएको छ । पुरानो मन्दिर भत्काउदा बाजागाजासहित मन्दिर भित्रका देउता अर्को ठाँउमा सारिएको थियो भने मन्दिर पुनः निर्माणपछि फेरि बाजागाजा, पुजाआजासहित मन्दिरभित्र देउता स्थानान्तरण गरिएको देविस्थानबाट बालकुमार फगामीले जानकारी दिएका छन्।

पुरानो मन्दिर पुनः निर्माण भएपछी स्थानीय बासिन्दा निकै खुशी भएका फगामीले बताए । यस मन्दिरको नाम ‘देविको थान’ बाट नै गाउँको ‘देविस्थान’ नामाकरण गरिएकोले यस गाउँलाई धार्मिक पर्यटकीय गाउँ बनाउनका लागि गाउँपालिकाले पनि विशेष पहल गर्ने मालिका गाउँपालिका ५ देविस्थानकी वडाअध्यक्ष पिपला बूढाले बताए ।

‘देबिस्थान पर्यटकीय हिसाबलेसुन्दर त छदैछ, त्यसमा पनि यो मन्दिर पुनःनिर्माण भएपछी आन्तरिक पर्यटनमा अझै टेवा पुग्ने विश्वास जागेको छ’ वडाअध्यक्ष बूढाले भने। यस मन्दिरमा बर्षमा उभौली (जेष्ठ,असार)उरौली(पौष,माघ) र दशैमा गरि तीन पटक बिशेष पुजा गर्ने गरिन्छ । अन्य समयमा पनि ब्यक्तिगत रुपमा पुजाआजा भइरहने स्थानीय समाजसेबी निम बहादुर पुनले बताए । बडादशैमा यहाँ ठुलो संख्यामा भक्तजनहरु आफ्नो मनोकामना पूरा गर्न राङ्गो, भेडा, बोका आदिको बलि दिने चलन छ । 

ऐतिहासिक र धार्मिक महत्वको यति महत्वपूर्ण स्थलमा आफ्ना पितृको स्मृतिमा मन्दिर निर्माण गरिदिएकोमा देविस्थानकी चेली तमसर र सूर्यकुमारीप्रति स्थानीयले कृतज्ञता प्रकट गरेका छन् । यसका साथै छोराले मात्र बुबाआमाको लागि कर्तव्य पूरा गर्छ भन्ने अन्धविश्वासको पनि अन्त्य भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्