पुलिस र च्यासलबीचको स्थगित खेल बुधबार, बाँकी खेल माघ २८ देखि हुने



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दशौँ चरणका खेल माघ २८ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दशौं चरणपछिको खेलतालिका मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ ।

माघ ३ गते नवौँ चरणको अन्तिम खेल न्युरोड टिम (एनआरटी) र जावलाखेलबीच भएपछि लिगमा अन्तर्राष्ट्रिय ‘ब्रेक’ भएको थियो । यसबीचमा नेपालले अफ्रिकी मुलुक मोरिससविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यस्तै, पोखरामा आहा–रारा गोल्डकप सम्पन्न भएको छ ।

नवौँ चरणमा स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल भने बुधबार हुनेछ । च्यासल युथ क्लबका १९ खेलाडी कोभिड–१९ संक्रमित भएपछि अन्तिम अवस्थामा खेल स्थगित भएको थियो ।

नवौँ चरणसम्मका लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र पोखरा रंगशालामा भएका थिए । लिगमा अब तीन चरणका खेल बाँकी छन् । बाँकी खेल दशरथ रंगशाला, एन्फा मुख्यालयको मैदान र च्यासल फुटबल मैदानमा गर्ने तयारी भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

नवौँ चरणका खेल सकिँदा २३ अंक जोडेको मच्छिन्द्र फुटबल क्लब शीर्ष स्थानमा छ । मनाङ–मस्र्याङ्दी क्लब १९ अंकका साथ दोस्रो स्थानमा छ । १७ अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो र १६ अंकको थ्री स्टार क्लब चौथो स्थानमा छ । पाँच अंकको च्यासल युथ र तीन अंकको फ्रेन्ड्स क्लब रेलिगेसन क्षेत्रमा छन् ।

प्रतिक्रिया दिनुहोस्