मुस्ताङमा स्की च्याम्पियनसिप हुँदै



पर्वत । वर्षासँगैको हिमपातका कारण जम्मा भएको हिउँले दैनिकी कष्टकर बनाएको छ। कहीँ खाद्यबाली सखाप भयो त कतै सडक बिग्रिएको अवस्था छ ।
हिमाल पारीको जिल्ला मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आठ दिनसम्म सडक अवरुद्ध भएपछि बजेट छुट्याई एक्स्काभेटर लगाएर करिब ५० किलोमिटर क्षेत्रको हिउँ पन्छाइएको थियो ।
तर त्यही हिमपात साहसिक खेल र पर्यटनका लागि पनि उपयुक्त हुन्छ। बाक्लो गरी जम्मा भएको हिउँ नपग्लिएपछि मुस्ताङकै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्की च्याम्पियनसिप आयोजना गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार नेपाल स्की एसोसिएसनले क्रस कन्ट्री स्की च्याम्पियनसिप आयोजना गरेको हो । फागुन ३ गतेदेखि सुरु गर्ने गरी चौथो राष्ट्रिय च्याम्पियनसिप आयोजना गरिएको हो ।
‘यसको मुख्य काम भनेको स्की एसोसिएसनको हो। हामी गाउँपालिकाले त केही सहकार्य मात्र गरेको हो, हाम्रो ठाउँको प्रमोट हुन्छ तर स्कीका लागि अहिले तालिम पनि चलिरहेको छ’, गाउँपालिकाका अध्यक्ष गुरुङले भने, ‘मंगलबारदेखि टुर्नामेन्ट हुँदै छ । हामीले स्थानीयलाई विशेष प्राथमिकता दिए पनि यहाँका मान्छे खासै आएका छैनन् । काठमाडौँ सहित बाहिरबाट आएका छन् ।’
च्याम्पियनसिपमा १६–१७ वर्ष वा आसपासको उमेर समूहका खेलाडीलाई बढी प्राथमिकतामा राखिएको र क्रस कन्ट्री खेल भएका कारण यहाँबाट राम्रो गरेकाहरू विभिन्न देशमा गएर खेल्ने र सिक्ने मौका पाउने उनको भनाइ छ ।
च्याम्पियनसिपमा पुरस्कारको रूपमा नगद पुरस्कारभन्दा पनि प्रमाणपत्र र अन्य देशमा गएर खेल्न पाउने अवसर महत्वपूर्ण हुने अध्यक्ष गुरुङ बताउँछन् । उक्त च्याम्पियनसिप वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको रानीपौवा पाखोमा हुनेछ ।
हिउँ परेपछि उपयुक्त वातावरण मिले मात्रै च्याम्पियनसिप आयोजना गरिने भएकाले हरेक वर्ष नियमित रूपमा च्याम्पियनसिप हुन्छ भन्ने छैन । दुई वर्षअघि मुस्ताङमा तेस्रो च्याम्पियनसिप आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्