पाकिस्तानमा इमरान खानविरुद्ध विपक्षीले अविश्वासको प्रस्ताव ल्याउने



इस्लामावाद । पाकिस्तानका विपक्षी दलहरूले संसद्मा इमरान खान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेका छन् ।
अखबार दुनियाँकाअनुसार विपक्षी दलहरूको समूह पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले शुक्रबार यस्तो घोषणा गरेको हो ।
पीडीएमका प्रमुख मौलाना फजलुर्रहमानले विपक्षी दल मुस्लिम लिग (नवाज गुट)का संसदीय दलका नेता शहबाज शरीफको घरमा बैठक बसेको बताए । उनले यो बैठक आकस्मिक रूपमा बोलाइएको भन्दै धेरै दलका नेताहरू भिडियो लिङ्कबाट बैठकमा सहभागी भएको जानकारी दिए ।
पत्रकारसँग कुरा गर्दै मौलानाले अविश्वासको प्रस्ताव ल्याउनुअघि प्रतिपक्षले पर्याप्त संख्या जुटाउने बताए । उनले सरकारमा संलग्न साना दलसँग पनि कुरा गर्ने बताए ।
यस अवसरमा शहबाज शरीफले जनताको चाहनाअनुसार इमरान सरकारलाई जतिसक्दो चाँडो घर पठाउने तयारी गरिरहेको बताए ।
मौलाना फजलुर्रहमानले सरकारमा संलग्न साझेदारहरूलाई इमरान सरकार अब डुब्ने डुंगा भएको बताउँदै त्यसबाट ओर्लिएर जनताको हितमा प्रतिपक्षलाई साथ दिनुपर्ने बताए । यस सम्बन्धमा मौलानाले शनिबार इमरान सरकारमा संलग्न मुस्लिम लिग (काफ)का नेताहरूलाई भेटेर मद्दतका लागि अपिल गरेका थिए ।
पाकिस्तान पिपल्स पार्टीका प्रमुख बिलावल भुट्टोले सरकार विरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने निर्णय लोकतन्त्रको जित भएको बताएका छन् ।
अविश्वासको प्रस्ताव ल्याउने विपक्षीको निर्णयप्रति प्रतिक्रिया दिँदै इमरान सरकारले विपक्षी दलहरू आफ्नो अस्तित्वका लागि लडिरहेको बताएको छ ।
अखबार एक्सप्रेसकाअनुसार केन्द्रीय सूचना एवं प्रसारण मन्त्री फवाद चौधरीले भोलि नै अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । फवाद चौधरीले मौलाना फजलुर्रहमान पहिलो दिनदेखि नै सरकारलाई घर पठाउने प्रयासमा रहेको उल्लेख गर्दै पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) सँगसँगै स्वयम् विपक्षी दलले पनि उनीहरूलाई आश्चार्यचकित पार्ने उनको भनाइ छ ।
केन्द्रीय गृहमन्त्री शेख रसिदले भने विपक्षीले अविश्वासको प्रस्ताव पनि नल्याउने र मार्च २३ देखि गर्ने भनिएको ‘लङ मार्च’ पनि नगर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्