स्थानीय तह निर्वाचन : बिहीबारदेखि दल दर्ता गर्ने तयारी



काठमाडौं : स्थानीय तह चुनावका लागि बिहीबारदेखि दल दर्ता गर्ने तयारी गरिएको छ । बिहीबार दल दर्ताका लागि आह्वान गरेर ११ दिनको समय दिने निर्वाचन आयोगले जनाएको हो । अहिले निर्वाचन आयोगमा एक सय तीन दल दर्ता भएका छन् ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘स्थानीय तहको निर्वाचनमा हामीले अन्तिमसम्म के–के काम गर्छौँ भनेर कार्यतालिका तयार गरिएको छ । त्यसैअनुसार ५ फागुनमा दल दर्ताको सूचना आह्वान हुन्छ, ११ दिनको समय दिइन्छ ।’

निर्वाचन सामग्रीको व्यवस्थापन गर्ने, निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने, मतदाता शिक्षा सामग्री तयारी तथा कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन कार्यक्रम तयारी गरी प्रकाशन गर्ने, निर्वाचन अधिकृतको नियुक्ति र कार्यालय स्थापना गर्ने, निर्वाचन आचारसंहिता लागू गर्ने, निर्धारित मतदान स्थलहरूमा मतदान केन्द्र तोक्नेलगायतका क्रियाकलाप समावेश भएको निर्वाचन कार्यतालिका स्वीकृत भएको आयोगले जनाएको छ ।

त्यस्तै, निर्वाचन सञ्चालनका लागि जनशक्तिको आकलन तथा परिचालन गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, निर्वाचन पर्यवेक्षण तथा अनुगमनको व्यवस्थापन गर्ने, मतपत्र व्यवस्थापन गर्ने, उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, निर्वाचन चिह्न प्रदान गर्ने, निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्ने, मतदाता शिक्षा सञ्चालन गर्ने, मतदाता परिचयपत्र छपाइ तथा ढुवानी र वितरण गर्ने, सुरक्षा व्यवस्था मिलाउने, मतदान, मतगणना तथा परिणाम घोषणा गर्ने कार्यतालिका पनि स्वीकृत गरिसकेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मतदाता नामावली अद्यावधिक गर्ने काम भइरहेको जनाएको छ ।

आयोगले विज्ञप्तिमा स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग भएको छलफल तथा परामर्शअनुसार यससम्बन्धी कार्यको अध्ययन गरी सात दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न एक कार्यदलसमेत गठन गरेको जानकारी दिएको छ ।

निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचन ३० वैशाख ०७९ मा एकै चरणमा सम्पन्न गर्ने गरी मिति घोषणा गरिसकेको छ । गत २४ माघमा सरकारले निर्वाचन मिति सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्