अमेरिकाको अर्काे चेतावनी : एमसीसी पास नगरे नेपालीलाई ठूलो घाटा



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर अमेरिकाले नेपाललाई फेरि अर्काे चेतावनी दिएको छ । एमसीसी पास गर्न दबाब दिँदै आएको अमेरिकाले फेरि (एमसिसी) सँगको सम्झौता तोकिएको समयमा संसदबाट पारित नभए दुई देशबीचको सम्बन्ध बिग्रिने चेतावनी दिएको छ ।

अमेरिकाले एमसिसी १६ फागुनभित्र संसदबाट पारित नभए अमेरिका-नेपाल सम्बन्ध प्रभावित हुने भन्दै फेरि चेतावनी दिएको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एमसिसी अनुमोदन नभए अमेरिकाको लागि चिन्ताको विषय र नेपाली जनतालाई घाटा हुने पनि बताएका छन् ।

‘नेपाल सरकारले एमसिसी परियोजनालाई अनुमोदन गर्ने वा नगर्ने भन्ने उसले गर्ने सार्वभौम निर्णय हो । बाहिरको प्रभाव र भ्रष्टाचार संसदमा निम्त्याउनु हुँदैन । एमसिसी सम्झौता संसदबाट अनुमोदन हुन नसकेमा अमेरिका चिन्तित हुनेछ । पास नभएमा नेपाली जनतालाई पनि घाटा हुनेछ,’ भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँगको कुराकानीमा उनले भनेका छन् ।

अमेरिकाले एमसिसी परियोजनाको विरुद्धमा चीनले साथ दिएको पनि आरोप लगाएको छ । पाँच महिनाको समयावधि १६ फागुनमा सकिँदै छ । त्यस अवधिभित्र नेपालले एमसिसी अनुमोदन गर्ने वा अस्वीकार गर्ने निर्णय लिनुपर्ने प्रवक्ताले बताएका छन् ।

यस्तै नेपाली काँग्रेसले बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । आज बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्