एमसीसीको विरुद्धमा उत्रिएका १३७ जना काठमाडौंबाट पक्राउ



काठमाडौैं । एमसीसीको बिरुद्धमा उत्रिएका १३७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको हो । सरकारले संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । प्रदर्शनकारीहरु निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । माइतीघरदेखि नारा जुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

एमसीसीको विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता पनि सडकमा आएका छन् । त्यस्तै एमसीसी संसदमा टेबल गर्न खोजेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका दलको मोर्चाले बुधबार नेपाल बन्द नै घोषणा गरेको छ ।

ती दलका कार्यकर्ता पनि नयाँबानेश्वर क्षेत्रको सडकमा प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको थियो । झडपका क्रममा प्रदर्शनकारीलाई प्रहरीले सडकमै लछारपछार गरेको थियो । प्रदर्शनकारीले पनि प्रहरीलाई ढुंगा हानेका थिए ।

प्रतिक्रिया दिनुहोस्