त्रिभुवन विमानस्थल धावनमार्गको पिच उप्काएर नयाँ बनाइँदै



काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको करिब ४ दशक पुरानो धावनमार्गको पिच पुनस्र्थापना हुने भएको छ । धावनमार्ग पुनस्र्थापना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ को–अपरेसन’ कम्पनीसँग आज सम्झौता गर्दै छ ।

पुरानो पिच उप्काएर नयाँ बनाउने जिम्मेवारी पाएको कम्पनीले चार महिना आवश्यक पूर्वतयारी गर्नेछ । त्यसपछिको ४५ देखि ७० दिनभित्र सम्पूर्ण धावनमार्गको पिच उप्काएर त्यसमा नयाँ पिच राखिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।

३ अर्ब ७५ करोड बजेट

धावनमार्ग पुनस्र्थापना गरी नयाँ बनाउन प्राधिकरणले ३ अर्ब ७५ करोड बजेट छुट्याएको छ । सो बजेट संकलन हरेक अन्तर्राष्ट्रिय यात्रुबाट विमानस्थल विकास शुल्क ९एडिएफ०का नाममा उठाइने १ हजार रुपैयाँबाट जम्मा भएको रकमबाट गरिएको हो ।

एडिएफबाट उठेकै रकमबाट अहिले त्रिभुवन विमानस्थलभित्र थप जहाज ‘पार्किङ वे’हरूको समेत निर्माण भइरहेको छ । एडिएफबाट अहिलेसम्म करिब ७ अर्ब रुपैयाँ संकलन भइसकेको बताइएको छ ।

पिच उप्काएर नयाँ बनाउने समयाधिभर विमानस्थल बन्द गर्न सक्ने सुविधा विमानस्थल व्यवस्थापनलाई छैन । किनकि, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा मात्र धावनमार्ग छ । उक्त धावनमार्गबाट हरेक दिन करिब ४ सय उडान–अवतरण हुुन्छ ।

त्यसकारण हरेक दिन १० घन्टा ९राति १० बजेदेखि बिहान ८ बजेसम्म० विमानस्थल बन्द गरेर धावनमार्ग पुनस्र्थापना गर्ने तयारी प्राधिकरणले गरेको छ । सो १० घन्टाभित्र हरेक दिन ८० मिटर पिच उप्काएर टालिसक्नुपर्छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्