सांसदहरू भन्छन् : लोकसेवा आयोगको विज्ञापन सच्याउनै पर्छ 



काठमाडौं : लोकसेवा आयोगले संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले  विज्ञापन सच्याउन सांसदहरूले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले संवैधानिक व्यवस्था अनुसार समावेशिताको सिद्धान्तअनुसार सच्याएर विज्ञापन गर्नुपर्ने माग गरेका हुन् । उनीहरूले  राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए ।

सांसद उमाशङ्कर अरगरिया,  कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँद तारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरेका हुन् । सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए ।

सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति प¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे । सांसद गौरी शङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताए ।

अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिए । सांसद जालीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्