कांग्रेसको चुनाव चिह्न छान्न प्रेरित गर्ने यो रूख



काठमाडौं । जनकपुरस्थित अर्थशास्त्रका प्राध्यापक सुरेन्द्र लाभले १० मंसिरमा फेसबुकमा एउटा तस्बीर साझा गरे, जसले धेरैको ध्यान आकृष्ट गर्‍यो । उक्त तस्बीरले सबैको ध्यान तान्नुको कारण त्यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहास बोकेको थियो ।
उक्त तस्बीर एउटा रूखको हो । झण्डै २०० वर्ष पुरानो मानिएको यो रूख सिरहा जिल्लाको औरही गाउँपालिका– ५ मा रहेको डा. राजेशचन्द्र दासको घरको प्रांगणमा छ । यसलाई मैथिली भाषामा ‘भालसरीको रूख’ भनिन्छ ।

भालसरी सदाबहार रूख हो । यो दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र उत्तर अस्ट्रेलियामा पाइन्छ । भालसरीको फल खान सकिन्छ भने पारम्परिक औषधिका रूपमा पनि यसको प्रयोग हुन्छ । यसको फूल सेतो र फल पहेंलो हुन्छ ।

वनस्पतिशास्त्रमा यस रूखको महिमा जेजस्तो भए पनि यसले नेपालको प्रजातान्त्रिक आन्दोलनको साक्षीको इतिहास बोकेको मधेस प्रदेशको राष्ट्रिय योजना आयोगका सदस्य पनि रहेका प्राध्यापक लाभ बताउँछन् ।

नेपालको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेसको चुनाव चिह्न यही रूखबाट प्रेरित भएको स्थानीय बासिन्दाको दाबी छ । कांग्रेसले २०१५ सालदेखि हालसम्म प्रयोग गर्दै आइरहेको चुनाव चिह्न ‘रूख’ यही रूखबाट प्रेरित भएर कांग्रेसका संस्थापक नेता तथा तत्कालीन सभापति बीपी कोइरालाले राखेका थिए ।

नेपालको राजनीतिमा कांग्रेस भनेको रूख र रूख भनेको कांग्रेस भन्ने मान्यता नै स्थापित छ । ‘कांग्रेसको चुनाव चिह्न डा.दासको औरहीस्थित घरको प्रांगणमा अवस्थित भालसरीको रूखबाट नै प्रेरित भएको हो’, लाभको दाबी छ ।

डा. दास पनि आफ्नो घरको प्रांगणमा रहेको यही रूख हेरेर नै कांग्रेसले २०१५ सालमा पार्टीको चुनाव चिह्न बनाएको दाबी गर्छन् ।
लाभका अनुसार नेपाली कांग्रेसका लागि औरही ऐतिहासिक ठाउँ हो । दास परिवारको घरमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आउजाउ बाक्लै हुन्थ्यो ।

कांग्रेसका कतिपय नेताहरूका अनुसार संस्थापक नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरूले औरहीको त्यही रूखको फेदमा बसेर चुनाव चिह्न परिकल्पना गरेका थिए ।

मधेसको एउटा सानो गाउँमा रहेको एउटा रूखले जसरी नेपाली प्रजातान्त्रिक आन्दोलनको प्रतिनिधित्व गर्छ, यसले देशमा प्रजातन्त्रका खातिर मधेसी समुदायले निर्वाह गरेको भूमिकालाई पनि कम आकलन गर्दैन ।

२००७ सालको जनक्रान्ति गर्ने निर्णय मधेसमा नै गरिएको थियो। रौतहटको सीमाक्षेत्र बैरगनियाँमा बसेको बैठकबाट नेपाली कांग्रेसले जनक्रान्ति गर्ने गरेको निर्णय नै नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रस्थान बिन्दु हो ।

कांग्रेस नेतृत्वमा भएका हरेक आन्दोलन र क्रान्तिमा मधेसका जनताले पहिलो दपटक पहाडका जनताका साथ काँधमा काँध मिलाई सशस्त्र क्रान्तिमा ओर्लिई राष्ट्रिय एकता प्रदर्शन गरेको इतिहास सप्तरीका पुराना पत्रकार तथा अधिवक्ता रामनारायण देव स्मरण गर्छन् ।

प्रतिक्रिया दिनुहोस्