टी-२० विश्वकप छनोट : नेपालले आज क्यानडाको सामना गर्ने



काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोटमा नेपालले आज क्यानडाको सामना गर्ने भएको छ । दुई खेलमा लगातार जित निकालेको नेपाल आफ्नो तेस्रो खेलमा क्यानडासँग भिड्न लागेको हो। यी दुई टोली बीचको खेल अल अमेरात क्रिकेट मैदानमा आज दिउँसो ३ :४५ बजे सुरु हुनेछ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै छनोटमा लगातार तेस्रो जित निकाल्ने योजनाका साथ मैदानमा उत्रने छ। नेपालले यस अघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १ सय ३६ रनकाे फराकिलाे अन्तरले हराएको थियो। २ खेलमा ४ अङ्क जोडेको नेपाल शीर्ष स्थानमा रहेको छ। समान खेलबाट २ अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ।

क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्नेछ। समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि हुने आईसीसी टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्