नेपाल विश्वकपबाट एक खेल टाढा



काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गतको ग्लोबल छनोट चरणको सेमिफाइनल खेलमा नेपालले युएईको सामना गर्ने भएको छ ।
खेल मंगलबार अपरान्ह ३ः४५ बजे देखि ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यस्तै समूह बी को उपवेजता बन्दै ओमान पनि सेमिफाइनल प्रवेश गरेको छ ।
त्यस्तै समूह ए को विजेता बनेर आयरल्यान्ड पनि सेमिफाइन प्रवेश गरेको छ भने उपविजेता बन्दै युएई पनि सेमिफाइनल प्रवेश गरेका हुन् ।
मंगलबारको खेलमा नेपालले युएईलाई पराजित गर्न सके नेपाल ८ वर्षपछि दोश्रो पटक टी–२० विश्वकप खेल्नेछ ।
यस्तै मंगलबार नै अर्को सेमिफाइनल खेल ओमान र आयरल्यान्डबीच हुँदैछ । सो खेलको विजेता टीमले पनि विश्वकपको यात्रा तय गर्नेछ । ओमान समूह बी को उपविजेता हो भने आयरल्यान्ड समूह एको विजेता हो ।
मंगलबार हुने नेपाल र युएई तथा ओमान र आयरल्यान्डबीचको खेल निकै चासोका साथ हेरिएको छ भने खेलाडीहरु पनि जित्नैपर्ने दबाबमा रहेका छन् । यी खेलमध्ये विजयी हुने टोली फाइनल पुग्नुका साथै अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–२० विश्वकपको लागि छनोट हुनेछन् ।
सोमबारको खेल जितिसकेपछि नेपालका कप्तान सन्दीप लामिछानेले भने ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ । त्यसरी नै मंगलबार पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ ।’
नेपाल समूह चरणका सबैखेल जित्ने एकमात्र सफल टोली हो भने रनरेटका आधारमा पनि समूह ए र बी का अन्य टोली भन्दा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्