‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (मंगलबार) दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रङ्गशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् । 

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा  राम्रो स्थान बनाउनु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुने खेलमा  नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अङ्क जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अङ्क जोडेर आठौं स्थानमा छ । 

अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल  क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौंथो स्थानमा  छ । संकटा ११ खेलमा १५ अङ्क जोडेर सातौँ स्थानमा  छ । 

प्रतिक्रिया दिनुहोस्