लोसपा औपचारिक रुपमा विभाजित



काठमाडौं । लोकतात्रिन्त्रक समाजवादी पार्टी नेपाल लोसपा गठन भएको ५ महिनामा औपचारिक रुमिा विभाजित भएको छ ।
लामो समयदेखि अध्यक्ष महन्थ ठाकुरलाई साथ दिँदै आएका प्रभावशाली नेता बृषेश चन्द्रलालले लोसपाबाट अलग भएका हुन् ।
ठाकुर नेतृत्वको लोसपा परित्याग गरी लालले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको घोषणा गरेका हुन् । तत्कालीन जनता समाजवादी पार्टी,नेपाल (जसपा) बाट विभाजित भई भदौ ९ गते लोसपा गठन भएको हो ।
जनकपुरधाममा मंगलबार पत्रकार सम्मेलन गरी लोसपाका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लाल, संविधानसभा सदस्य समेत रहेका केन्द्रीय कार्यकारिणी सदस्य डा.विजयकुमार सिंहलगायतले लोसपा परित्याग गरेको घोषणा गर्दै तमलोपामा प्रवेश गरेको घोषणा गरे । लालसहितका नेताहरु पार्टी अध्यक्ष ठाकुरप्रति असन्तुष्ट जनाउँदै आएका थिए ।
जसपा नेपालबाट विभाजित भएर ७ महिना अघि बनेको लोसपा नेपालभित्र अध्यक्ष ठाकुरले एक्लौटी ढंगले पार्टी एकीकरण गरेको र लोसपा गठनपछि पनि एकलौटी ढंगले अघि बढेका कारण आफूहरुले लोसपा नेपाल परित्याग गरेको नेता लालले द नेपाल टपलाई बताए ।
रविशंकर लाल कर्णको नेतृत्वमा तमलोपा दर्ता छ । कर्ण नेता लाल निकटका हुन् । तत्कालीन जनकपुर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेता लाल प्रथम मधेस आन्दोलनपछि काँग्रेस छोडेर तमलोपा गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
‘मधेसका जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघीयताको अभ्यासलाई आगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकाले हामी आवद्ध रहेका आ–आफ्ना दलहरु आजैदेखि परित्याग गर्दै तराई–मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ पत्रकार सम्मेलनमा नेता लालले भने ।
संविधानसभा सदस्य डा. सिंहले फागुन १५ गते तमलोपालाई सुदृढीकरण र पुनर्गठन गरी अघि बढाइने बताए । उनले मधेसको एजेण्डा छाडेर लोसपा नेपालका अध्यक्ष ठाकुुरले सत्तामा जानका लागि पार्टीको दुरुपयोग गरेको आरोपसमेत लगाए ।
लोसपा परित्याग गर्नेहरुमा लोसपाका केन्द्रीय सदस्य रामजी राय, केन्द्रीय सदस्य धिरेन्द्र बहादुर सिंह, सतिष लाल दास, योगेन्द्र राम, उमेश मण्डल, ब्रज किशोर सिंह, नेतृ विन्दु देवीलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लाबाट आएका करिब डेढ सयभन्दा बढी नेता तथा कार्यकर्ता छन् ।

लोसपा संस्थागत रुपमा चलेन
लालले लोसपा संस्थागत रुपमा चल्न नसकेको आरोप लगाउँदै मधेस आन्दोलनको मर्म र भावनाविपरीत मधेसका नेताहरु सत्ता र कुर्सीका लागि मात्र लागेको आरोप लगाए । ‘लोसपा मात्रै होइन जसपा पनि संस्थागत रुपमा चल्न सकेको अवस्था छैन, एउटा केपी ओलीको पछाडि लागेको छ भने अर्को पार्टी प्रचण्डजीको पछि लागेको अवस्था छ,’ लालले भने ।

प्रेस विज्ञप्ति
मधेशका जनताले देशमा विविधताको पहिचान र मान्यता, संघीयता, समावेशिता, क्षेत्रीय स्वशासनको निमित्त ठूलो संघर्ष गर्दै आएको छ । यसका निमित्त सयौं शहादत र हजारौं आन्दोलनकारीहरुको रगत बगेको छ । मधेशको यो एजेन्डा देशकै बहुआयामी रुपान्तरण, विविधतापूर्ण साझा राष्ट्रीयता र समतापूर्ण विधिको शासन निर्माणको निमित्त ऐतिहासक एजेन्डा हो । यसै एजेन्डाको सम्वोधनको निमित्त मधेशले प्रतिनिधि राजनीतिक दलहरूमा सहभागी भएर, यीनलाई समर्थन गरेर सिंच्यो । आन्दोलनहरूबाट प्राप्त सम्पूर्ण उर्जा प्रदान गर्यो । तर मधेशका राजनीतिक दलका नेतृत्व(पंक्ति जनता, जनताको विद्रोहपूर्ण संघर्षको ऐतिहासिक एजेन्डालाई थाम्न सक्ने, गन्तव्यको दिशामा बोकेर आगाडि बढाउन सक्ने सामर्थ्य देखाउन सकेनन् । जनताले दिएको अभिमत, समर्थनलाई सत्ता र सरकारमा सहभागिताको स्वार्थमा शक्तिको हाटमा सुम्पिने जस्तो काम गर्यो । आज मधेशको प्रतिनिधित्व गर्ने कुनै राजनीतिक दल छैन । बृहत् राजनीतिक शक्तिको निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेश केन्द्रित दलहरूको अस्तित्व नै रहेन । नेतृत्वपंक्ति मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वभावतः लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ । भूमि, इतिहास, भाषा, संस्कृति, जीवनशैली बोकेको मधेश ‘राष्ट्र’लाई जात र सम्बन्धवादमा विभाजित गरी सिमित गर्न खोजिएको छ । वास्तविकता यही हो ।
यस स्थितिमा मधेशको जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघियताको अभ्यासलाई आगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिवद्ध राजनीतिक दल आजको आवश्यकता भएकोले हामी आवद्ध रहेका आआफ्ना दलहरू आजैदेखि परित्याग गर्दै ‘तराई मधेश लोकतान्त्रिक पार्टी’ मा समावेश भएको सम्बन्धित सबैमा जानकारी गराउँद छौं ।
२०७८ फागुन १० गते

प्रतिक्रिया दिनुहोस्