आर्मी दोस्रो स्थानमा उक्लियो



काठमाडौं । संकटा क्लबविरुद्ध ३–१ अन्तरको जितसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। मंगलबार दशरथ रंगशालमा भएको दोस्रो खेलमा आर्मीको जितमा सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे । संकटाका लागि उत्तम राईले सान्त्वना गोल गरे ।

खेलमा आर्मीले पुनरागमन गर्दै तीन अंक जोडेको हो । आर्मीले तीनै गोल दोस्रो हाफमा गरेको थियो । खेलको १४औं मिनेटमा उत्तम राईले गोल गर्दा संकटाले अग्रता बनायो । पहिलो हाफमा १–० ले पछि परेको आर्मीलाई सन्तोषले खेलमा फर्काए । उनले ५९औं मिनेटमा गोल गरे ।

जर्जप्रिन्सले ७३औं मिनेटमा गोल गर्दा आर्मीले २–१ को अग्रता बनायो । बैकल्पिक खेलाडी टेक बहादुर बुढाथोकीले खेल सकिन ५ मिनेट बाँकी हुँदा गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । जितसँगै आर्मी १२ खेलबाट २२ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । यता, संकटा भने लगातार खराब प्रदर्शन पछि समान खेलबाट १५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ ।

यस अघि मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै दोस्रो स्थानमा पुगेको एनआरटी फुटबल क्लब तेस्रो स्थानमा झरेको हो । जारी लिगको १२औं चरणका खेल सकिँदा मछिन्द्र च्याम्पियन भइसकेको छ भने च्यासल यूथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० दोस्रो डिभिजनमा घटुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्