नेपाल पुलिस र रोयल उपाधिका लागि खेल्ने



काठमाडौं । रोयल बास्केटबल एकेडेमी र नेपाल पुलिस क्लब टेन्डी शेर्पा स्मृति खुल्ला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन्। राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने भएको हो। अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलातर्फ पुलिस रोयलसङ मात्र पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुलिसले रुपन्देहीलाई ५०–३३ ले हरायो। पुलिसकी अनुषा मल्लले १५ स्कोर गरिन् । रुपन्देहीकी दीपिका गुरुङले सर्वाधिक २२ अंक जोडे पनि टिमलाई जिताउन सकिनन्। पहिलो क्वाटरमा १७–९ को अग्रता बनाएको प्रहरी दोश्रोमा ६(७ को झीनो अन्तरले पछि पर्‍यो । बाँकी दुई क्वाटरको नतिजा आफ्नो पक्षमा पारेको प्रहरीले १५–८ र १२–८ को प्रदर्शन गर्‍यो।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा टाइम्स र गोल्डेनगेटले सेमिफाइनल यात्रा तय गरे। टाइम्सले कास्कीलाई ११३–६१ ले हरायो। टाइम्सका मविन्द्र क्षेत्री र कास्कीका राजेन्द्र पुनले समान २० स्कोर गरे। टाइम्स चारै क्वाटरमा अघि रह्यो। टाइम्सले २६–१०, ३२–१३, २८–१७ र २७–२१ अंक जोड्यो।

गोल्डेनगेटले ड्रिम टिमलाई १०२–७९ ले पाखा लगायो । गोल्डेनगेटका विक्रम डंगोलले २३ अंक बटुले। उता ड्रिम मिटका रविन बस्नेतले ३२ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन। सुरुआतमा २०–१९ को साँघुरो अग्रता लिएको गोल्डेनगेट दोस्रोमा २६–२६ को बराबरीमा रोकियो । तेस्रोमा ३३–२२ र चौथोमा २३(१२ को अग्रता बनाउँदै गोल्डेनगेटले जित सुनिश्चित गर्दै जित अन्तर पनि फराकिलो बनायो।

सेमिफाइनलमा गोल्डेनगेटको भेट टाइम्ससँग हुनेछ । अर्को सेमिफाइनल रोयल र नेपाल आर्मीबीच हुने छ ।

प्रतिक्रिया दिनुहोस्