संसद्‌मा एमसीसी छलफल आज, लोसपा पक्षमा, आलेको ‘हरियो बत्ती’



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता अनुमोदनका लागि छलफल सुरु नहुँदै सत्ताको नेतृत्व गरेको दलदेखि विपक्षी दलसम्मले संसद्‌मा उपस्थित हुन ह्वीप जारी गरेका छन्। बिहीबार (आज)को बैठकमा एमसीसी सम्झौताबारे छलफलको सम्भावित कार्यसूची तय भएलगत्तै कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थित हुन भनेका छन्।

सत्ता गठबन्धनभित्रका ३ वटा दलले एमसीसीको विपक्षमा मतदान गर्ने घोषणा गरे पनि विपक्षमा रहेको लोसपा एमसीसीको पक्षमा उभिँदै छलफलमा सबै सांसदलाई उपस्थित गराउने निष्कर्षमा पुगेको हो । कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले पठाएको मोबाइल सन्देशमा बिहीबार १ बजे अनिवार्य उपस्थित हुन भनिएको छ । संसद् सचिवालयले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा बिहीबार एमसीसी अनुदान सहायता सम्झौतामाथि छलफल हुने जनाइएको छ। अनुदान सहायता सम्झौतामाथि अर्थमन्त्री जनार्दन शर्माले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको छ।

यसअघि आइतबार प्रस्ताव टेबुल हुँदा मन्त्री शर्मा अनुपस्थित थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी एमालेको अवरोधकै बीच संसद्बाट एमसीसी परियोजना अनुमोदन गर्ने तयारीअनुरूप २ हप्ताअघिदेखि विभिन्न दलका नेताहरूसँग भेटघाट गरेका थिए । अमेरिकाले तोकेको समयसीमा (१६ फागुनभित्रै) सम्झौता अनुमोदन गराउने देउवाको तयारी छ। लोसपाले पार्टीका सबै सांसदलाई अनिवार्य उपस्थित हुन ह्वीप लगाएको सो पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बुधबारको संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्ष/विपक्षमा मतदान गर्ने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको कर्णले बताए । संसद्‌मा एमसीसी टेबुल हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष ठाकुरबीच भेटवार्ता भएपछि लोसपा प्रस्तावको पक्षमा सकारात्मक भएको हो । प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन् ।

जसपामा अन्योल
जनता समाजवादी पार्टी (जसपा) एमसीसीको पक्षमा खुले पनि सो दलले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छैन। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आफू प्रस्तावको पक्षमा उभिने बताएका छन्।

विभाजनको सङ्घारमा पुगेपछि जसपाको भित्री धारणा बुझ्न र प्रस्तावबारे समर्थन गर्न आग्रह गर्दै कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए । स्वतन्त्र सांसद हृदयेश त्रिपाठी एमसीसी पक्षमा खुल्ने भएका छन् । विगतमा आफू सहभागी सरकारले अनुमोदनका लागि एमसीसी संसद्मा दर्ता गराएकाले आफूले दोहोरो चरित्र प्रदर्शन नगर्ने उनको भनाइ छ ।

आलेले बालिदिए ‘हरियो बत्ती’
सत्ता साझेदार दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा –एकीकृत समाजवादी)मा एमसीसीबारे तीव्र विवाद छ । दुवै दल प्रस्तावको विपक्षमा रहने बताएका छन् तर केही सांसदहरू भने प्रस्तावको पक्षमा लचक देखिएका छन्।

पर्यटनमन्त्री प्रेमबहादुर आले र उनी निकटका ७ देखि १० सांसदहरू ‘फ्लोर क्रस’ गरेर भए पनि प्रस्तावको पक्षमा खुल्ने तयारीमा जुटेका छन् । नेकपा एसकी सचिव तथा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो पार्टीले सडक र सत्तामध्ये एक रोज्नुपर्ने बताइरहेका बेला आलेले देउवालाई भेटेर आफूसहितका केही सांसदले पक्षमा मतदान गर्ने आश्वासन दिएको कांग्रेका नेताहरूको दाबी छ। आलेले यसअघि पनि एमालेमा रहँदा पार्टी ह्वीपविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए।

प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था बस्ने प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाएका छन् । सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ घटकभित्रै चर्को मतभेद रहेका बेला प्रमुख प्रतिपक्षी नेकपा एमालले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

बढाइयो सुरक्षा सतर्कता
नयाँ बानेश्वर आसपासका क्षेत्रमा हरेक दिन विरोध प्रदर्शन हुन थालेपछि संसद् भवन आसपास सुरक्षा सतर्कता बढाइएको छ । संसद् भवनको मूल सडकसँगै रहेको पर्खालमा काँडेतार लगाइएको छ। प्रदर्शनकारी र प्रहरीबीच हुन सक्ने सम्भावित झडपलाई ध्यान दिएर पर्खाललाई तारले घेरिएको हो ।

एमसीसी प्रस्ताव टेबुल हुने भएपछि दिनभर नयाँ बानेश्वर र आसपासको क्षत्रेमा प्रर्दशनकारी र प्रहरीबीच पटकपटक झडप भएको थियो । प्रस्ताव टेबुल हुनु एक हप्ताअघिदेखि नयाँ बानेश्वरसहित उपत्यकाका विभिन्न क्षेत्रमा नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दल र तिनका भ्रातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्