‘सरकार प्रतिपक्ष मिलकाे त छैन भनी जनताले शंका गर्न थालिसके’



भक्तपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस नेतृत्वले प्रभावकारी भूमिका खेल्न नसक्दा देशभरका कार्यकर्तामा निराशा छाएको बताएका छन्।

 

बीपी विचार मञ्चले भक्तपुरमा गरेको कार्यक्रममा नेता पौडेलले पार्टी नेतृत्वको कार्यशैली प्रति कडा आपत्ति जनाएका हुन्। वर्तमान सरकार निकम्मा भइसकाे उनले अाराेप लगाए । अाफ्नाे पार्टी नेतृत्वले सरकारकाे खुलेर विरोध गर्न नसकेकोमा पनि पौडेलले तीव्र असन्तुष्टि जनाए।

 

‘अब त आम जनताले प्रतिपक्ष नै सत्ता पक्षसँग मिलेको त होइन भनेर शंका गर्न थालिसके,’पौडेलले भने। निर्मला पन्त हत्या प्रकरण, वाइडबडी खरिदमा भएको चरम अनियमितता, एक पक्षीय ढंगले बूढी गण्डकी परियोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने जस्ता सरकारका निर्णयप्रति पार्टी नेतृत्व मौन जस्तै देखिएको पौडेलेको टिप्पणी थियो।

 

पौडेलले बेतर्कको भाषणबाजी गरी आफ्नो राजनीतिक कद नघटाउन सत्तारुढ दलका नेताहरुलाई सुझाव दिए। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भैरहवा विमानस्थल निर्माणको प्रसंगमा समयमै काम सक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने भनी दिएको प्रतिक्रियामा कनै तुक नभएको बताए । 

प्रतिक्रिया दिनुहोस्