पुटिनलाई मोदीको फोन भने-‘तत्काल हिंसा अन्त्य गर्नुस्’



एजेन्सी । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।

बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ । भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो ।

त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चिन्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जोखिममा परेको बताएका थिए ।

फ्रान्सका राष्ट्रपति इमानुअल म्याँक्रो र पुटिनबीच पनि टेलिफोनमा कुराकानी भएको छ । कुराकानीमा म्याक्रोले युक्रेनमा जारी सैन्य कारबाही तत्काल अन्त्य गर्न आग्रह गरेको सीजीटीएनले जनाएको छ । सैन्य कारबाही जारी पुटिनविरुद्ध व्यापक प्रतिबन्ध लगाइनेसमेत बताएक थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्